जापानबिशेष

संसद्‌देखि भान्सासम्म प्रधानमन्त्री ताकाइचीको दौडधुप

जापानकी प्रधानमन्त्री साने ताकाइचीले सरकारी जिम्मेवारीसँगै घरायसी कामसमेत आफैँले गर्नुपर्दा आफ्ना पुरुष पूर्ववर्तीहरूको तुलनामा दैनिक तीनदेखि चार घण्टा बढी समय खर्च हुने बताउनुभएको छ ।

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीको यो भनाइले राजनीतिक नेतृत्वमा महिलाले सामना गर्ने दोहोरो जिम्मेवारी र जापानको कार्यसंस्कृतिबारे पुनः बहस सुरु गरेको छ ।

बुधबार संसद्मा बोल्दै उहाँले बिहान नुहाउने, खाजा बनाउने, भाँडा माझ्ने र शृङ्गार गर्नेजस्ता सामान्य घरायसी कामले समेत आफ्नो समय व्यस्त बनाउने बताउनुभयो । “मलाई लाग्छ, यी काम गर्दा पुरुष प्रधानमन्त्रीहरूको तुलनामा तीनदेखि चार घण्टा बढी खर्च भइरहेको छ,” उहाँले भन्नुभयो ।

समाचार संस्था एएफपीको विवरणलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट ले बुधबार प्रकाशित समाचारमा ताकाइचीको कार्यशैली, घरायसी जिम्मेवारी र जापानको संसदीय कार्यप्रणालीबारे चर्चा गरेको छ ।

आफूलाई काममा अत्यधिक समय दिने व्यक्तिका रूपमा चिनाउनुहुने ताकाइचीले रातमा निकै कम सुत्ने र कहिलेकाहीँ बिहान ३ बजे नै कर्मचारीसँग बैठक राख्ने गर्नुभएको विवरणमा उल्लेख छ ।

जापानी सञ्चारमाध्यम द जापान टाइम्स ले पनि ताकाइचीको अत्यधिक कार्यभार, निद्राको कमी र प्रधानमन्त्रीको समय व्यवस्थापनबारे यसअघि विस्तृत समाचार प्रकाशित गरेको थियो ।

प्रधानमन्त्री बनेपछि दैनिक शून्यदेखि तीन घण्टासम्म मात्र सुत्ने अवस्था सामान्य बनेको उहाँले जुलाईमा सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको थियो । सप्ताहान्तमा समेत सरकारी कागजात पढ्ने, नीतिगत विषयको अध्ययन गर्ने र संसदीय प्रश्नको तयारीमा समय बिताउने गरेको उहाँको भनाइ थियो ।

संसद्मा लामो समय बिताउनुपर्ने बाध्यता

ताकाइचीको समय व्यवस्थापनबारे चर्चा सत्तारूढ गठबन्धनका सांसद फुमिताके फुजिताले प्रधानमन्त्रीले संसद्मा लामो समय बिताउनुपर्ने अवस्थाबारे प्रश्न उठाएपछि भएको हो ।

जापान इनोभेसन पार्टीका सांसद फुजिताका अनुसार सन् २०२२ मा जापानी प्रधानमन्त्रीले ७२ दिन संसदीय सत्रमा बिताएका थिए । त्यसको तुलनामा बेलायतका प्रधानमन्त्रीले ५० दिन र जर्मनीका प्रधानमन्त्रीले १३ दिन संसदीय सत्रमा भाग लिएका थिए ।

संसदीय छलफल र सरकारको जवाफदेहितालाई महत्त्वपूर्ण मान्दै फुजिताले जापानी प्रधानमन्त्रीलाई संसद्मा लामो समयसम्म सीमित राख्ने कार्यप्रणाली अन्तर्राष्ट्रिय अभ्याससँग मेल नखाने बताउनुभएको थियो ।

जापानमा प्रधानमन्त्रीले विपक्षी सांसदका प्रश्नको जवाफ दिन वा संसदीय कार्यवाहीमा सहभागी हुन दैनिक पाँचदेखि सात घण्टासम्म बिताउनुपर्ने अवस्था रहेको एएफपीले जनाएको छ ।

ताकाइचीले संसदीय प्रश्नसँग सम्बन्धित कागजात घरमा ल्याएर मध्यरातसम्म अध्ययन गर्ने गरेको बताउनुभएको छ । “घरमा ल्याएका कागजातका थुप्रा मध्यरातमा पढ्न मलाई रमाइलो लाग्छ,” उहाँले संसद्मा भन्नुभयो । तर देशको भविष्य र आफ्नो विस्तृत दृष्टिकोणबारे स्पष्ट मनले सोच्न आवश्यक समय निकाल्न कठिन भइरहेको उहाँले स्वीकार गर्नुभयो ।

महिला प्रतिनिधित्व र कार्यसंस्कृतिमाथि बहस

जापानमा राजनीतिमा महिलाको प्रतिनिधित्व अझै न्यून छ । गत फेब्रुअरीमा भएको तल्लो सदनको निर्वाचनमा ४६५ सिटमध्ये ६८ सिटमा मात्र महिला निर्वाचित भएका थिए ।

यस्तो अवस्थामा देशको सर्वोच्च कार्यकारी पदमा रहेकी महिलाले घरायसी जिम्मेवारीसमेत आफैँले निर्वाह गर्नुपरेको बताउनुले जापानी समाजमा काम र परिवारबीचको जिम्मेवारी बाँडफाँटबारे प्रश्न उठाएको छ ।

द जापान टाइम्स का पछिल्ला विवरणहरूले ताकाइचीको अत्यधिक कार्यभार र निद्राको कमीले उहाँको कार्यशैली कति टिकाउ हुन सक्छ भन्ने बहस पनि अघि सारेका छन् ।

जुलाईमा उहाँले सार्वजनिक गर्नुभएको निद्रासम्बन्धी विवरणपछि जापानको कार्यशैली सुधारसम्बन्धी नीतिसँग यस्तो कार्यसंस्कृति मेल खान्छ कि खाँदैन भन्ने प्रश्न उठेको थियो ।

जापानी प्रधानमन्त्रीको कार्यालयले पनि काम, बालबालिकाको हेरचाह र अन्य पारिवारिक जिम्मेवारीका कारण मानिसले आफ्नो पेसागत क्षमता विकास गर्ने अवसर गुमाउन नपर्ने वातावरण आवश्यक रहेको बताएको छ ।

घरायसी काममा सहयोग गर्ने सेवाको पहुँच विस्तार र कामदारले आफ्नो परिवारका लागि समय निकाल्न सक्ने वातावरण निर्माणलाई सरकारले महत्त्व दिएको आधिकारिक विवरणमा उल्लेख छ ।

प्रधानमन्त्रीको न्यून निद्रालाई लामो समय काम गर्नुलाई राम्रो मान्ने संस्कृतिको समर्थनका रूपमा बुझ्न नहुने पनि ताकाइचीको कार्यालयले स्पष्ट पारेको छ ।

ताकाइचीको भनाइले प्रधानमन्त्रीको व्यस्त दैनिकी मात्र होइन, महिलाले सार्वजनिक जिम्मेवारी सम्हाल्दा घरायसी कामको भार पनि समान रूपमा बाँडिएको छ कि छैन भन्ने प्रश्नलाई समेत सतहमा ल्याएको छ । यसले जापानमा लैङ्गिक समानता, काम गर्ने समय र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्ने बहसलाई थप महत्त्व दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.