राजनीति

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले बुधबार मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गर्नुभयो । सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन ।

यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको ‘पोस्टल सिम पोर्टल’मा क्लिक गरेर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ ।

नागरिकले अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना (ल्यान्डमार्क), फोटो र नागरिकता/राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ । टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ ।

सिमका लागि रु ९० र हुलाक डेलिभरीका लागि रु ७० शुल्क लाग्ने छ । उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ । त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ । सो सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ । हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्‍याइदिने छन् ।

आधा घण्टामै मन्त्रालयमा सिमकार्ड

हुलाक–सिम सेवा शुभारम्भसँगै मन्त्री डा तिमिल्सिनाले नयाँ सिमकार्डका लागि अनलाइन आवेदन पेस गर्नुभयो । टेलिकमको सुन्धारास्थित कार्यालयबाट व्यक्तिगत विवरण ‘भेरिफाइड’ भएपछि मन्त्री तिमिल्सिनाले अनलाइनबाट भुक्तानी गर्नुभयो ।

भुक्तानी सफल भएलगत्तै टेलिकमले हुलाकमार्फत सूचना तथा सञ्चार मन्त्रालयमा ‘फिजिकल’ सिम उपलब्ध गराएको थियो । हुलाक सेवाका कर्मचारी पुस्कर बस्नेतले उक्त सिमकार्ड मन्त्री तिमिल्सिनाले दिनुभएको ‘स्थान’ मा पुर्‍याउनुभएको थियो ।

मन्त्री डा तिमिल्सिनालाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले संयुक्त रूपमा उक्त सिमकार्ड हस्तान्तरण गर्नुभयो । मन्त्री डा तिमिल्सिनाले आवेदन गर्नुभएको करिब आधा घण्टामा सिमकार्ड तोकिएको ‘स्थान’ मा आइपुगेको थियो ।

सहरी क्षेत्रमा अनलाइन आवेदन स्वीकृत र भुक्तानी भएको करिब दुई घण्टा र ग्रामीण भेकमा तीन दिनमा आवेदकलाई सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन

कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले हुलाक–सिम सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “डेलिभरीमा व्यक्त गरिएभन्दा अघि नागरिकको हातमा सिमकार्ड पुर्‍याउने प्रयास गर्नुहोला ।”

नागरिकले चाहेकै स्थानमा सिमकार्डलगायत सरकारी सेवा पुर्‍याउन सकेको खण्डमा समय र रकम बचत हुने भन्दै उहाँले सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने प्रयास जारी रहेको बताउनुभयो ।

हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गरिने

सरकारले हुलाक सेवालाई सुदृढ गर्दै आधुनिक सरकारी कुरियर सेवाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले यो सिम डेलिभरी सेवा सोही प्रतिबद्धताको एउटा महत्त्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवा अनलाइनमा आधारित बनाउन आग्रह गर्नुभयो ।

सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले टेलिकमको सिम बिक्री वितरणको विद्यमान व्यवस्थामामा हुलाक–सिम सेवा नयाँ ‘डिपार्चर’ भएको बताउनुभयो । “यो सुरुआत हो, यसको दिगोपनामा दुवै पक्षले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “हल्कारालाई पनि आवश्यक तालिम र अभिमुखीकरण गर्नुपर्छ ।”

टेलिकमका प्रबन्ध निर्देशक पहाडीले आजदेखि नागरिकले माग गरेकै स्थानमा भौतिक सिमकार्ड पुर्‍याउने व्यवस्था गरिएको बताउनुभयो । हुलाक सेवा विभागका महानिर्देशक भट्टराईले सहर तथा दूरदराजका नागरिकले सहजै सिमकार्ड पाउने चाहना सरकारले पूरा गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.