संस्कृति

नेपाली नृत्य विधामा स्वजन रघुवंशीको पहिलो विद्यावारिधि

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जातजाति तथा समुदायका मौलिक नृत्य प्रचलित छन्। आधुनिकताको बढ्दो प्रभाव र सूचना प्रविधिको विस्तारसँगै यी परम्परागत नृत्य लोप हुँदै जाने चिन्ता बढिरहेका बेला नेपाली नृत्य विधामा पहिलोपटक विद्यावारिधि हासिल भएको छ।

ललितपुर निवासी  स्वजन रघुवंशीले नृत्य विषयमा विद्यावारिधि हासिल गर्नुभएको हो। उहाँ भारतको छत्तीसगढस्थित खैरागढमा रहेको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट उक्त उपाधि प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ।

क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीको अध्ययन, प्रशिक्षण तथा प्रस्तुति गर्दै आउनुभएको छ।

विद्यावारिधि हासिल गर्नुअघि उहाँले लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्ट्सबाट नृत्य विषयमा स्नातक तथा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम नृत्यमा स्नातकोत्तर गर्नुभएको थियो।

रघुवंशीको यो उपलब्धि व्यक्तिगत शैक्षिक सफलतामा मात्र सीमित छैन। यसले नेपाली नृत्यलाई मनोरञ्जन वा मञ्चीय प्रस्तुतिको विधाका रूपमा मात्र नभई अध्ययन, अनुसन्धान र प्राज्ञिक विमर्शको विषयका रूपमा स्थापित गर्नसमेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालका विभिन्न जातजाति र समुदायमा पुस्तौँदेखि प्रचलित लोकनृत्य, चर्या नृत्य तथा अन्य परम्परागत नृत्यशैलीमा निहित ऐतिहासिक, सांस्कृतिक र धार्मिक पक्षको खोज, अभिलेखीकरण र संरक्षणका लागि यस्ता अनुसन्धानले आधार तयार गर्न सक्छन्।

आधुनिकताको प्रभावसँगै ओझेलमा पर्दै गएका मौलिक नृत्यको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न, नृत्य शिक्षालाई व्यवस्थित बनाउन र नेपाली सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि यस उपलब्धिले प्रेरणा दिनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.