विश्व समाचार

चिनियाँ खाना राख्ने कार्टनको अमेरिकी कथा

चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कार्टन अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको छ । एकै टुक्रा कागजबाट बनाइएको यो बाकसको इतिहास अमेरिकी आविष्कार, चिनियाँ आप्रवासन र खानपान संस्कृतिसँग जोडिएको छ ।

यसको अवधारणा सन् १८९४ मा आविष्कारक फ्रेडरिक वीक्स विल्कोक्सले सीप बोक्ने कागजी बाल्टिनका लागि पेटेन्ट लिएपछि सुरु भएको थियो । कागजलाई विशेष तरिकाले मोडेर बनाइने यस बाकसले खाना चुहिन नदिने र ढक्कन लगाउन मिल्ने सुविधा दिन्थ्यो ।

सन् १८०० को मध्यतिर सुनको खोजी र रेलमार्ग निर्माणका लागि चिनियाँ आप्रवासीहरू अमेरिका पुग्न थाले । उनीहरूले बसोबास गरेका सान फ्रान्सिस्कोलगायतका सहरमा विकसित चाइनाटाउनका रेस्टुरेन्टले चिनियाँ खानाको अमेरिकी शैली स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले ।

नर्थ क्यारोलाइना विश्वविद्यालयकी चिनियाँ इतिहासकी प्राध्यापक मिशेल किङका अनुसार दोस्रो विश्वयुद्धपछि अमेरिकामा चिनियाँ रेस्टुरेन्ट र परिकारको विविधता उल्लेख्य रूपमा बढ्यो ।

चिनियाँ खानाको सस्तो मूल्य, सहज उपलब्धता र घर लैजान मिल्ने सुविधाले पनि यसको लोकप्रियता बढाएको उहाँले बताउनुभयो ।

सन् १९७० को दशकतिर फोल्ड–पाक नामक प्याकेजिङ कम्पनीले कार्टनमा चिनियाँ शैलीको प्यागोडाको चित्र थप्यो । यसले कार्टनलाई चिनियाँ खानासँग जोडिएको विशिष्ट पहिचान दियो ।

किङले यसलाई इटालियन खानासँग जोडिने पिज्जा बक्ससँग तुलना गर्दै यस्तो प्याकेजिङले चिनियाँ अमेरिकी खानाको छुट्टै छवि बनाउन मद्दत गरेको बताउनुभयो ।

अहिले यस्ता कार्टन विभिन्न आकारमा उपलब्ध छन् र तिनमा राखिने परिकारको दायरा पनि फराकिलो भएको छ । खानाको प्याकेजिङमा मात्र सीमित नरहेको यसको पहिचान मोबाइल फोनमा ‘टेकआउट’ जनाउने इमोजीमा समेत देखिन्छ । यसले सामान्य कागजी बाकस कसरी अमेरिकी लोकप्रिय संस्कृतिको प्रतीक बन्यो भन्ने देखाउँछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.