जन सरोकार

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुल्मीको मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताउनुभयो ।

करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आइतबार उद्घाटन गर्दै उहाँले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय हुन आवश्यक छ भन्नुभयो ।

सो अवसरमा देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय एवं शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । “समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्यगरी महिलाको सम्मान सुनिश्चित गर्नसके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ”, महानिरीक्षक कार्कीले भन्नुभयो ।

उहाँले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसर भएको बताउनुभयो ।

स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले बताउनुभयो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ । निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० देखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो । मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.