बिचार

हराउँदै रातो माटो र कमेरोले घर पोत्ने दशैँको संस्कृति

दशैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोतेर चिटिक्क पार्ने पुरानो संस्कृति पछिल्लो समय हराउँदै गएको छ। आधुनिकताको बढ्दो प्रभाव, सिमेन्टले प्लास्टर गरिएका घरको विस्तार र बजारमा पाइने आधुनिक रङको प्रयोग बढेसँगै दशैँको आगमनसँग जोडिएको यो मौलिक परम्परा कमजोर बन्दै गएको हो।

विगतमा दशैँ नजिकिएपछि गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्यालमा रङ लगाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।

घरलाई नयाँ रूप दिने यो कामले गाउँबस्तीलाई नै रङ्गीन र चहलपहलपूर्ण बनाउँथ्यो। गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने चलनले दशैँको रौनकसँगै आपसी सहयोग र सद्भाव पनि बढाउँथ्यो।

तर, आधुनिक घर निर्माणको बढ्दो क्रमसँगै सहरमा रातो माटो र कमेरोले घर पोत्ने चलन लगभग हराइसकेको छ। गाउँघरमा भने कतैकतै यो परम्परा अझै कायम छ। लमजुङका गाउँबस्तीमा समेत पहिले दशैँको तयारीका रूपमा नियमित गरिने घर पोत्ने काम अहिले विरलै देखिन थालेको छ।

आधुनिक घर निर्माण, सिमेन्टको प्रयोग, बजारमा उपलब्ध रङप्रतिको आकर्षण र बसाइँसराइका कारण परम्परागत शैलीमा घर पोत्ने चलन कमजोर हुँदै गएको स्थानीय बताउँछन्।

कुनै समय दशैँको तयारीसँगै गाउँमा उत्साह र सामूहिकताको वातावरण बनाउने यो अभ्यास अहिले नयाँ पुस्ताका लागि पुरानो सम्झनाजस्तै बन्दै गएको छ।

लमजुङको बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीलाई दशैँअघि गाउँमा हुने पुरानो चहलपहल अझै सम्झना छ। उहाँका अनुसार पहिले गाउँलेहरू आधा घण्टादेखि एक घण्टासम्म पैदल हिँडेर जङ्गलनजिकका ठाउँमा पुग्थे र घर पोत्नका लागि रातो माटो खनेर ल्याउँथे। त्यसपछि घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, ढोका–झ्यालमा कालो रङ लगाउने तथा बाटोघाटो सफा गर्ने गरिन्थ्यो।

घर पोत्ने काम घरधनीको मात्र जिम्मेवारी हुँदैनथ्यो। गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने गर्थे। घरमा वृद्धवृद्धा मात्रै रहेका वा आफैँले घर पोत्न नसक्ने परिवारलाई छिमेकीले माटो ल्याइदिने र आवश्यक सामग्री जुटाउन सहयोग गर्ने चलन थियो। यसले गाउँमा आपसी सहयोग र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको तिवारीको अनुभव छ।

तर, अहिले पहिलेको जस्तो सहकार्य र चहलपहल देखिन छाडेको उहाँ बताउनुहुन्छ। रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारका सदस्य गाउँबाहिर जाने क्रम बढेको, कतिपय घर खाली रहेको र कतिपयमा वृद्धवृद्धा मात्रै बस्ने गरेकाले गाउँको पुरानो रौनक घटेको उहाँको भनाइ छ।

तिवारीको आफ्नै घरमा पनि समयसँगै आएको परिवर्तन देखिन्छ। उहाँका अनुसार २०७२ सालको भूकम्पअघि उहाँको घर परम्परागत शैलीको थियो र त्यसमा रातो माटो तथा कमेरो पोत्ने गरिन्थ्यो। भूकम्पपछि नयाँ घर निर्माण गर्दा पुरानो बनावट कायम नरहेकाले अहिले पहिलेझैँ घर पोत्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङ पनि पुराना घरको सङ्ख्या घट्दै जानु र नयाँ घरमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्नुले परम्परा हराउँदै गएको बताउनुहुन्छ।

पहिले गाउँका अधिकांश घरमा रातो माटो र कमेरो पोतिने गरे पनि अहिले पुराना घरमा समेत सिमेन्टको प्लास्टर गर्ने चलन बढेको उहाँको भनाइ छ।

सहरी क्षेत्रमा यो परम्परा लगभग हराइसके पनि लमजुङका केही गाउँमा भने अझै कायम छ। बेँसीसहर नगरपालिका–३, गाउँसहरका केही घरमा परम्परागत शैलीमा रातो माटो र कमेरोले पोत्ने अभ्यासलाई निरन्तरता दिइएको छ।

लमजुङ दरबारनजिकै रहेको गाउँसहरका केही स्थानीयले घर पोतेर गाउँबस्तीलाई सफा र आकर्षक राख्ने पुरानो चलन जोगाइरहेका छन्।

स्थानीय सुरेश श्रेष्ठका अनुसार गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने गरिन्छ। तर, आधुनिक घर निर्माण बढ्दै जानु र पुराना घर भत्काएर नयाँ संरचना बनाउने क्रमले यो परम्परा पनि क्रमशः हराउने जोखिम बढेको उहाँ बताउनुहुन्छ।

रातो माटो र कमेरोले घर पोत्ने चलन घर सजाउने तरिका मात्रै थिएन। यो स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र सामूहिक जीवनशैलीसँग जोडिएको संस्कृति पनि थियो।

दशैँअघि गाउँलेहरू मिलेर माटो ल्याउने, घर पोत्ने र बाटोघाटो सफा गर्ने अभ्यासले छरछिमेकबीचको सम्बन्ध प्रगाढ बनाउँथ्यो। सबैले मिलेर चाडपर्वको तयारी गर्ने परम्पराले गाउँमा आत्मीयता र सहकार्यको वातावरण सिर्जना गर्थ्यो।

समयसँगै घर निर्माणको शैली, जीवनशैली र बसोबासको स्वरूप परिवर्तन हुनु स्वाभाविक भए पनि त्यससँगै मौलिक संस्कृति र सामूहिकताको अभ्यास हराउँदै जानु चिन्ताको विषय बनेको छ। आधुनिक घर र नयाँ रङले गाउँबस्तीको स्वरूप फेरिए पनि रातो माटो र कमेरोले घर पोत्ने परम्पराले बोकेको सांस्कृतिक महत्त्व भने कम भएको छैन।

दशैँको आगमनसँगै गाउँघरमा देखिने रातो माटो र कमेरोको रङ, घर पोत्ने चटारो र छिमेकीबीचको सहयोग नेपाली ग्रामीण जीवनका मौलिक पहिचान हुन्।

यो परम्परा जोगाउनु भनेको पुरानो घर पोत्ने शैलीलाई निरन्तरता दिनु मात्रै नभई त्यससँग जोडिएको सीप, स्थानीय स्रोतको उपयोग र सामूहिक संस्कृतिलाई पनि जीवन्त राख्नु हो। (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.