फ्रान्समा अशान्ति नियन्त्रण गर्न प्रधानमन्त्रीद्वारा कर्फ्यु लगाउन आह्वान
फ्रान्समा बढ्दो अशान्ति नियन्त्रण गर्न प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार स्थानीय क्षेत्रमा कर्फ्यु लगाउन आह्वान गरेका छन्।
पेरिसस्थित लुभ्र सङ्ग्रहालयको प्रवेशद्वार प्रदर्शनकारीहरूले अवरुद्ध गरेपछि सरकार सार्वजनिक असन्तुष्टि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ। गत सप्ताहान्तमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन चर्किएर पछिल्ला केही वर्षयताकै गम्भीर सडक हिंसामध्ये एकमा परिणत भएको थियो।
गृहमन्त्रीले सप्ताहान्तको अशान्तिका क्रममा प्रहरीले ‘नियन्त्रण गुमाएको’ बताएपछि प्रधानमन्त्री लेकोर्नुले सङ्कट व्यवस्थापनका लागि मन्त्रीहरूसँग आकस्मिक बैठक गरेका थिए।
सप्ताहान्तको प्रदर्शन आयोजना गरेको ‘यल्लो भेस्ट्स’ आन्दोलनले आगामी शनिबार फेरि प्रदर्शन गर्ने घोषणा गरेपछि लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई व्यवसायको सुरक्षा गर्न ‘आंशिक’ र ‘स्थानीय स्तरमा लक्षित’ कर्फ्यु लगाउन आह्वान गरेका हुन्। प्रदर्शनका क्रममा सयौँ पसलमा तोडफोड तथा लुटपाट भएको थियो।
‘म सार्वजनिक व्यवस्था पुनःस्थापित गर्न पूर्ण रूपमा प्रतिबद्ध छु,’ उनले भने। आवश्यक परे सरकारले आपत्काल घोषणा गर्नसमेत तयार रहेको उनले बताए।
महँगीविरुद्धको आक्रोशले अन्य युरोपेली देशहरूमा पनि प्रदर्शन निम्त्याएका बेला त्यहाँका सरकारहरूले फ्रान्सको घटनाक्रमलाई चिन्तित हुँदै नियालिरहेका छन्। सप्ताहान्तमा इटालीको मिलान र बेल्जियमका केही स्थानमा सानातिना झडप भएका थिए भने स्पेन र पोर्चुगलमा पनि प्रदर्शन जारी छन्।
शनिबार फ्रान्सभर करिब पाँच लाख मानिस जीवनयापनको बढ्दो लागतको विरोधमा सडकमा उत्रिएका थिए। यो चार सातादेखि जारी प्रदर्शनको उत्कर्ष थियो। आन्दोलनको सुरुवात विद्यालयमा राम्रो सुविधा र अवस्था माग गर्दै उच्च माध्यमिक तहका विद्यार्थीहरूले गरेका प्रदर्शनबाट भएको थियो।
सुरुमा शान्तिपूर्ण रहेका प्रदर्शन केही स्थानमा हिंसात्मक बने। प्रदर्शनको छेउछाउमा रहेका मुख छोपेका समूहहरूले सुरक्षाकर्मीमाथि आक्रमण गरे, नगरपालिकाका कार्यालय र अन्य सार्वजनिक भवनमा प्रवेश गरी तोडफोड गरे तथा तीमध्ये धेरै भवनमा आगजनी गरे। उनीहरूले पसलमा लुटपाट गर्नुका साथै सडकमा रहेका कार, साइकल र स्कुटरमा पनि आगो लगाएका थिए।
दुई हजार पाँच सयभन्दा बढी मानिस पक्राउ परेको र सुरक्षाकर्मीका करिब एक हजार सदस्य घाइते भएको घटनापछि गृहमन्त्री लोरेन नुनेजले सोमबार राजीनामा दिने प्रस्ताव गरेका थिए। प्रदर्शनकारीहरू पनि घाइते भएका छन्। प्रहरीको भीड नियन्त्रण गर्ने ग्रेनेड लागेर एक प्रदर्शनकारीको हात नै उडेको थियो।
‘शनिबार केही ठूला सहरमा सयौँ पसल लुटिएपछि पसलेहरूको आँखामा आँखा जुधाएर हामीले नियन्त्रण गुमाएका छैनौँ भन्न सकिने अवस्था थिएन,’ नुनेजले भने।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले नुनेजको राजीनामा अस्वीकार गरेका छन्। यद्यपि, शनिबार देशभर करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि सरकारको प्रतिक्रियामा सुरक्षा तथा गुप्तचरसम्बन्धी कमजोरी रहेको उनले स्वीकार गरेका छन्।
न्यायमन्त्री जेराल्ड डार्मानिनका अनुसार सप्ताहान्तमा देशभर दुई हजार तीन सय ३० भन्दा बढी मानिसलाई प्रहरी नियन्त्रणमा लिइएको थियो। पक्राउ परेकामध्ये ७० प्रतिशत वयस्क थिए र तीमध्ये धेरैजना यसअघि नै प्रहरी तथा सम्बन्धित निकायको जानकारीमा रहेका व्यक्ति थिए।
फ्रान्सभर सप्ताहान्तको हिंसाबाट दुई हजारभन्दा बढी पसल प्रभावित भएको अनुमान गरिएको छ। क्षतिको रकम ‘सयौँ मिलियन युरो’ पुग्ने फ्रान्सेली वाणिज्य तथा उद्योग क्षेत्रका प्रतिनिधि एलेन दी क्रेसेन्जोले बताएका छन्।
आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोंले ‘अनियन्त्रित’ हिंसाको कडा निन्दा गरेका थिए। उनले स्थानीय अधिकारीहरूलाई केही प्रदर्शनमा प्रतिबन्ध लगाउन सक्ने अधिकार दिइने बताए पनि थप कडा कदम चाल्ने घोषणा भने गरेनन्।
मार्सेई सहरका अधिकारीहरूले सोमबार दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको बताएका छन्।
युरोपेली संघले सप्ताहान्तको हिंसालाई ‘अस्वीकार्य’ भनेको छ। तर, फ्रान्समा शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको संरक्षण हुनुपर्नेमा पनि उसले जोड दिएको छ।
जर्मनीले हिंसाको निन्दा गर्दै फ्रान्स भ्रमणसम्बन्धी आफ्नो सुझाव अद्यावधिक गरेको छ। आगामी केही दिनमा थप प्रदर्शन र कतिपय अवस्थामा फेरि हिंसा भड्किन सक्ने सम्भावनालाई नकार्न नसकिने जर्मनीले जनाएको छ।
बेलायतले भने प्रदर्शन गर्ने अधिकारले हिंसालाई कहिल्यै औचित्य प्रदान गर्न नसक्ने बताएको छ।
लुभ्र सङ्ग्रहालयको प्रवेशद्वार अवरुद्ध
सोमबार पनि सार्वजनिक असन्तुष्टि कम हुने कुनै सङ्केत देखिएन। प्रदर्शनकारीहरूले पेरिसस्थित विश्वकै सबैभन्दा बढी अवलोकन गरिने सङ्ग्रहालय लुभ्रको प्रवेशद्वार अवरुद्ध गरेका थिए।
फ्रान्समा बढ्दो मूल्यवृद्धिले जनआक्रोश चर्काएको छ। मार्चयता डिजेलको मूल्य झन्डै ४० प्रतिशत र पेट्रोलको मूल्य २५ प्रतिशतले बढेको छ। सन् २०२१ यता खाद्यवस्तुको मूल्य पनि २५ प्रतिशतले वृद्धि भएको छ।
फ्रान्समा आगामी केही महिनाभित्र महत्त्वपूर्ण राष्ट्रपति निर्वाचन हुन लागेको छ। त्यही समयमा अशान्ति चर्किएको हो। मध्यमार्गी नेता म्याक्रोंले आगामी निर्वाचनमा पुनः उम्मेदवारी दिन पाउने छैनन्।
अर्कोतर्फ, दक्षिणपन्थी राष्ट्रवादी दल ‘नेसनल र्याली’ की राष्ट्रपति पदकी उम्मेदवार मरिन ले पेन जनमत सर्वेक्षणमा बलियो अवस्थामा देखिएकी छन्।
मन्त्रीहरू र ले पेनले राष्ट्रपति निर्वाचनमा कट्टर वामपन्थी नेता जाँ-लुक मेलँसोंको सम्भावना बलियो बनाउन अति वामपन्थी समूहहरूले हिंसा भड्काएको आरोप लगाएका छन्।
सोमबार प्रधानमन्त्री लेकोर्नुले देशभर गम्भीर अशान्ति सिर्जना गर्न खोजेको भन्दै ‘अति वामपन्थी आन्दोलन’ लाई दोष दिएका थिए।
‘राष्ट्रपति निर्वाचनको समयतालिका र स्वयं निर्वाचन सञ्चालन हुने प्रक्रियामाथि समेत प्रश्न उठाउने अवस्था सिर्जना गर्न परिचालित हुन सक्ने एउटा व्यापक सञ्जाल छ,’ लेकोर्नुले पत्रकारहरूलाई भने।
युरोपका अन्य देशमा पनि महँगीविरुद्ध प्रदर्शन
फ्रान्सबाहेक अन्य युरोपेली देशहरूमा पनि यस्तै प्रदर्शन भएका छन्। सप्ताहान्तमा इटालीको मिलानमा जीवनयापनको बढ्दो लागतविरुद्ध भएको प्रदर्शनका क्रममा केही झडप भएका थिए।
मिलानका मेयर ज्युसेप्पे सालाले यसबारे चिन्ता व्यक्त गर्दै भने, ‘म निकै चिन्तित छु, किनकि यो नयाँ प्रकारको घटना हो। यसको उत्पत्ति अन्तर्राष्ट्रिय परिस्थितिमा पनि छ र यसले आफैँलाई थप विस्तार गर्दै लैजान्छ।’
बेल्जियमको ब्रसेल्स र लिज सहरमा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
स्पेनमा आवासको मूल्य अत्यधिक बढिरहेको छ। त्यहाँ ८७ वर्षीया महिलालाई जीवनभर बस्दै आएको घरबाट हटाइएपछि देशव्यापी विरोध प्रदर्शन चर्किएको थियो। त्यसयता सेप्टेम्बरदेखि म्याड्रिडको केन्द्रमा रहेको पुएर्ता देल सोल चोकमा सयौँ पाल राखिएका छन्।
पोर्चुगलमा पनि घरभाडा तथा आवासको बढ्दो लागतविरुद्ध प्रदर्शनकारीहरूले राजधानी लिस्बन र दोस्रो ठूलो सहर पोर्तोमा पाल राखेर विरोध प्रदर्शन गरिरहेका छन्।




प्रतिक्रिया राख्नुहोस्