अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ ।
छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गर्नुभयो ।
मुख्य प्रतिवादी तथा उहाँका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताउनुभएको छ ।
म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा हृदयाघात र फोक्सोमा तरल पदार्थ जम्ने समस्याका कारण मृत्यु भएको थियो । मस्तिष्कको सानो शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उहाँ ब्युनस आयर्सनजिकै टिग्रेस्थित निजी निवासमा बस्नुभएको थियो ।
अप्रिलमा सुरु भएको सुनुवाइमा ७० भन्दा बढी साक्षीले बयान दिएका थिए । अभियोजन पक्षले सात प्रतिवादीमध्ये छ जनालाई चारदेखि १२ वर्षसम्म जेल सजाय माग गरेको छ ।
लुकेका लागि सबैभन्दा बढी १२ वर्ष सजाय माग गरिएको हो । उहाँको कानूनी टोलीले ध्वनि रेकर्डिङ, वैज्ञानिक लेख र शव परीक्षणको भिडियो प्रस्तुत गर्दै आफूलाई फसाइएको दाबी गरेको थियो ।
मुद्दाको मुख्य विषय म्याराडोनालाई अस्पतालमा राख्नुको सट्टा निजी निवासमा स्वास्थ्यलाभ गर्न दिने निर्णय लापरवाहीपूर्ण थियो वा थिएन भन्ने हो ।
अभियोजन पक्षले निवासमा अस्पतालको शय्या, मुटुको धड्कन नियमित गर्ने उपकरण र तत्काल उपलब्ध हुने एम्बुलेन्सजस्ता आधारभूत सुविधा नभएको विषयलाई लापरवाहीको प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।
चिकित्सा विशेषज्ञहरूका अनुसार मृत्यु हुनुअघि म्याराडोनाको शरीरमा तरल पदार्थ जम्ने, मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने र सास फेर्न कठिनाइ हुनेजस्ता गम्भीर लक्षण देखिएका थिए । हेरचाहकर्ताले ती सङ्केतप्रति समयमै ध्यान नदिएको उनीहरूले बताएका थिए ।




प्रतिक्रिया राख्नुहोस्