नेपाल प्रिमियर लिग (एनपीएल) मा अनुबन्ध भइसकेका पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेपछि नेपाल क्रिकेट संघ (क्यान) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको विवादले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय विस्तारमा नयाँ प्रश्न खडा गरेको छ।
कर्णाली याक्समा अनुबन्ध पाकिस्तानका टी २० कप्तान साहिबजादा फरहान
खेलाडीलाई प्रतियोगितामा सहभागी हुन अनुमति दिने अनापत्ति प्रमाणपत्र (एनओसी) पहिले उपलब्ध गराइएको भए पनि पछि त्यसलाई रोकिएको र प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागिएको विवरण सार्वजनिक भएपछि विवाद चर्किएको हो।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले पीसीबीको व्यवहारले नेपाली क्रिकेटको विकासमा अवरोध पुर्याउने नियत देखिएको आरोप लगाउनुभएको छ।
क्यान अध्यक्ष चन्दले पीसीबीको कदमलाई नेपाली क्रिकेटको विकासमा बाधा पुर्याउने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ। अनुबन्ध भइसकेका खेलाडीको अनुमति रोक्ने र थप रकम मागिएको भन्ने विवरणले यस्तो आशङ्का जन्माएको उहाँको आरोप छ।
क्यानले यस विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग छलफल गरिरहेको जनाएको छ। यस घटनाबाट क्यानले भविष्यका लागि पाठ बनेको छ।
क्यान अध्यक्ष चन्दको भनाइअनुसार, खेलाडीमाथि लगानी भइसकेपछि उनीहरूलाई फिर्ता बोलाउने वा खेल्न नदिने अवस्था सिर्जना भए त्यसबाट भएको क्षतिको जिम्मेवारीसमेत सम्बन्धित पक्षले लिनुपर्छ।
नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरेको उचाइ, एनपीएलप्रति बढ्दो अन्तर्राष्ट्रिय चासो र प्रतियोगितामा विदेशी खेलाडीको आकर्षणबाट पाकिस्तान पक्ष असहज भएको हुनसक्ने उहाँको आशय छ।
अनुबन्धपछि अनुमति रोकिँदा आर्थिक जोखिम
एनपीएलका विभिन्न टोलीले पाकिस्तानी खेलाडीलाई अनुबन्ध गर्नुअघि उनीहरूको खेलस्तर, अनुभव र टोलीलाई दिनसक्ने योगदानका आधारमा लगानी गरेका थिए।
खेलाडीको पारिश्रमिक, टोलीको संरचना, प्रतिस्थापन खेलाडीको खोजी र प्रतियोगिताको तयारीमा खर्च भइसकेपछि अन्तिम समयमा फिर्ता बोलाउनु आफैंमा गैरव्यावसायिक कुरा मानिएको छ ।
द काठमाडौँ पोस्ट र क्रिकेटसम्बन्धी सञ्चारमाध्यम क्रिकनेपालले सार्वजनिक गरेका विवरणअनुसार, पीसीबीले यसअघि अनुमति पाइसकेका खेलाडीको एनओसीसमेत रोकिएको जानकारी दिएको थियो।
एनपिएलमा पाकिस्तानका टी २० कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुनेन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर विभिन्न टोलीमा अनुबन्ध भएका थिए । लिगसँग सम्बन्धित व्यक्तिहरूले प्रतिखेलाडी करिब २५ हजार अमेरिकी डलर शुल्क मागिएको बताएका छन्।
एनपीएलको बढ्दो आकर्षण र नेपाली क्रिकेटको महत्वाकाङ्क्षा
एनपीएल नेपालमा घरेलु क्रिकेटको व्यावसायिक विस्तारका लागि महत्त्वपूर्ण प्रतियोगिता बन्दै गएको छ। विदेशी खेलाडीको सहभागिता, पुरस्कार राशि, व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कारजस्ता पुरस्कारको व्यवस्था तथा प्रतियोगिताबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भइरहेको चर्चाले यसको आकर्षण बढाएको छ।
यस्ता पक्षले नेपाली क्रिकेटलाई घरेलु दर्शकमा सीमित नराखी अन्तर्राष्ट्रिय क्रिकेट बजारसँग जोड्न मद्दत गर्दछ । चर्चित विदेशी खेलाडीको उपस्थितिले दर्शकको चासो बढाउनुका साथै नेपाली खेलाडीलाई उच्चस्तरका खेलाडीसँग खेल्ने र उनीहरूबाट सिक्ने अवसर दिन्छ।
साथै प्रतियोगिताको व्यावसायिक मूल्य बढ्दा प्रायोजक, प्रसारण अधिकार र भविष्यमा खेलाडी विकासमा लगानी जुटाउने सम्भावना पनि विस्तार हुँदै जानेछ ।
अबको प्राथमिकता आरोप–प्रत्यारोपभन्दा विवादको वास्तविकता पत्ता लगाउनु, खेलाडीको सहभागिताबारे स्पष्ट निर्णय गराउनु र फ्रेन्चाइज टोलीले गरेको लगानीको सुरक्षाका लागि उपयुक्त समाधान खोज्नु पर्दछ।
यदि अनुमति दिइसकेपछि कुनै स्पष्ट आधारबिना अन्तिम समयमा फिर्ता लिइएको प्रमाणित भयो र त्यसबाट फ्रेन्चाइज टोलीलाई प्रत्यक्ष आर्थिक क्षति पुगेको देखियो भने क्षतिपूर्तिको माग उठ्नु स्वाभाविक हुन्छ। तर क्षतिपूर्ति कसले, कुन कानुनी वा करारीय आधारमा र कति रकम तिर्नुपर्ने हो भन्ने कुरा स्पष्ट छैन ।
एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिताबारे उत्पन्न विवाद नेपाली क्रिकेटको बढ्दो अन्तर्राष्ट्रिय महत्त्वाकाङ्क्षासँग जोडिएको छ। पुरस्कार, विदेशी खेलाडी, व्यावसायिक लगानी र विश्वव्यापी चर्चाले प्रतियोगितालाई नयाँ उचाइमा पुर्याउने सम्भावना देखाएका बेला अन्तिम समयमा एनओसीसम्बन्धी अन्योल उत्पन्न हुनु नेपाली क्रिकेटका लागि चुनौती हो।




प्रतिक्रिया राख्नुहोस्