राजनीति

दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्छ : अध्यक्ष साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताउनुभएको छ ।हुम्ला भ्रमणका क्रममा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधिसभाका सदस्य समेत रहनुभएको अध्यक्ष साम्पाङले भ्रमणका क्रममा अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा पनि सहभागी हुनुभएको छ ।

यसक्रममा उहाँले भन्नुभयो, “राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ ।”

नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उहाँले बताउनुभयो ।

सो अवसरमा उहाँले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । सांसद सांसद साम्पाङ को यहाँको भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणसँग जोडिएको बताइएको छ ।

उक्त स्थानमा स्थानीय नागरिक जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उहाँले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थाबाट काम अघि बढ्ने प्रक्रिया तय भइसकेको छ । यस्तो अवस्थामा पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवाको अभावले नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.