जापानबिशेष

साइकलमा बालबालिका राख्ने सिट प्रयोगसम्बन्धी नियम खुकुलो पार्ने जापानको तयारी

जापानको सुरक्षित सवारीचालन केन्द्रले साइकलमा जडान गरिने बाल सिटमा बच्चा राख्न पाउने उमेर र शारीरिक आकारसम्बन्धी प्रतिबन्ध खुकुलो पार्ने विषयमा छलफल गर्न मंगलबार विज्ञहरूको कार्यदलको पहिलो बैठक आयोजना गरेको छ।

कार्यदलले बालबालिकाको तौलले साइकल चलाउने सहजता र सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा प्रयोगात्मक परीक्षण गर्नेछ। आगामी वर्ष मार्चको अन्त्यसम्ममा प्रतिवेदन तयार पार्ने यसको योजना छ।

राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगअन्तर्गत सञ्चालन हुने यस केन्द्रले सडक दुर्घटनासम्बन्धी प्रमाणपत्र जारी गर्नुका साथै सडक सुरक्षासम्बन्धी अनुसन्धान पनि गर्छ।

कार्यदलको निष्कर्षका आधारमा राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले हालका नियम संशोधन गर्ने विषयमा विचार गर्नेछ। हाल सामान्यतया प्राथमिक विद्यालय भर्ना हुनुअघिका बालबालिकालाई मात्र साइकलको बाल सिटमा राखेर यात्रा गराउन अनुमति दिइन्छ। एनपीएले संशोधित मापदण्ड तयार गरी प्रान्तीय प्रहरी विभागहरूलाई जानकारी गराउने योजना बनाएको छ।

कार्यदलमा यातायात इन्जिनियरिङ र तथ्याङ्क विश्लेषणका क्षेत्रमा विशेषज्ञता हासिल गरेका विश्वविद्यालयका प्राध्यापकका साथै साइकल तथा बाल सिटको कार्यक्षमता परीक्षण र सुरक्षा निरीक्षण गर्ने जापान साइकल प्रवर्द्धन संस्थानका प्रतिनिधि सहभागी छन्। एनपीए र टोकियो महानगरीय प्रहरी विभागले पनि छलफलमा भाग लिनेछन्।

उत्पादनले सुरक्षा मापदण्ड पूरा गरेको जनाउने एसजी सुरक्षा प्रमाणीकरण चिह्नले साइकलको बाल सिटमा राखिने बच्चाको उचाइ १२० सेन्टिमिटर र तौल २४ किलोग्रामभन्दा बढी नहुन सिफारिस गर्छ।

कार्यदलले हाल सिफारिस गरिएको भन्दा बढी तौल राखेर परीक्षण गर्ने योजना बनाएको छ। साइकल गुडिरहेको अवस्थामा यसको स्थिरता, मोड्दा पल्टिने जोखिमलगायतका पक्षको परीक्षण गरिनेछ। त्यसपछि बाल सिटमा राखिने बच्चाको सुरक्षित तौल सीमा र साइकलको संरचनात्मक मजबुतीसम्बन्धी आवश्यक मापदण्डबारे छलफल हुनेछ।

जापानी कानुनले सामान्यतया एउटै साइकलमा दुई जना चढ्न निषेध गरेको छ। तर, प्रत्येक प्रान्तका सार्वजनिक सुरक्षा आयोगले बनाएका नियममा उपयुक्त बाल सिट प्रयोग गरिएको अवस्थामा विद्यालय जानुअघिका बढीमा दुई जना बालबालिकालाई साइकलमा राखेर लैजान पाउने अपवादको व्यवस्था छ।

बालबालिकाले प्राथमिक विद्यालय सुरु गरेपछि पनि विद्यालय पुर्‍याउन, चिकित्सककहाँ लैजान तथा अन्य कामका लागि साइकलमै लैजानुपर्ने भएकाले नियम खुकुलो पार्नुपर्ने माग अभिभावकहरूले वर्षौंदेखि गर्दै आएका छन्।

गत अप्रिलदेखि यो माग झन् तीव्र भएको छ। त्यसबेला जापानले साइकलसम्बन्धी ट्राफिक नियम उल्लङ्घन गरे तत्काल जरिवाना गर्ने ‘ब्लु टिकट’ प्रणाली लागू गरेको थियो। यस प्रणालीअन्तर्गत नियमविपरीत एउटै साइकलमा दुई जना चढेर यात्रा गरेमा जरिवाना लाग्ने व्यवस्था छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.