जल/वातावरणबिशेष

नेपाल छिर्दै चक्रवात ‘अर्णव’ : कुन क्षेत्रमा कस्तो जोखिम ?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा समेत पर्ने भएपछि देशका विभिन्न क्षेत्रमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको जोखिम बढेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चक्रवातको प्रभाव देखिन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बुधबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार शुक्रबार र शनिबार वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ। यस अवधिमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्छ। ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको छ।

मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ। स्याटेलाइट तस्बिरअनुसार चक्रवात भारतको आन्ध्र प्रदेश आसपासको सामुद्रिक क्षेत्रमा रहेको र तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गर्ने क्रममा छ। यसको प्रभावले नेपालका विभिन्न भागमा बादल लाग्ने, मौसम बदली हुने र वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो।

पश्चिमी वायुको प्रभावसमेत रहने अवस्थामा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने अनुमान छ।

मौसम प्रतिकूल हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा पर्वतारोहण तथा पदयात्राका लागि जाने पर्यटकलाई यात्रा स्थगित गर्न र जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

नदी तटीय क्षेत्रमा सतर्कता

सम्भावित वर्षालाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्छ।

वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। नदीको बहाव बढ्न सक्ने समयमा खोला किनारमा जाने, माछा मार्ने, नदी तर्ने वा जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्ने कार्य नगर्न सुझाव दिइएको छ।

हिमपात र हिमपहिरोको सम्भावना रहेका क्षेत्रमा मौसमको अवस्था नबुझी यात्रा गर्दा उद्धारमा समेत कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद् महर्जनले आग्रह गर्नुभएको छ। वर्षा, पहिरो र हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसमको पछिल्लो अवस्था बुझ्न पनि आवश्यक छ।

धानबाली सुरक्षित राख्न आग्रह

चक्रवातको सम्भावित प्रभाव कृषि क्षेत्रमा समेत पर्न सक्ने भएकाले किसानलाई धानबाली सुरक्षित राख्न आग्रह गरिएको छ। धान भित्र्याउने समय भएकाले खेतमा पाकेको धान र काटेर सुकाउन राखिएको बाली वर्षाका कारण प्रभावित हुन सक्छ।

महाशाखाले सम्भव भएसम्म बिहीबारअघि नै धानबाली भित्र्याउन तथा कृषि कार्य गर्दा मौसमको पछिल्लो अवस्था बुझ्न अनुरोध गरेको छ। काटिसकेको धान सुरक्षित स्थानमा राख्न र भित्र्याउन बाँकी बालीलाई वर्षाबाट जोगाउने व्यवस्था मिलाउन किसानलाई सुझाव दिइएको छ।

भारतको तटीय क्षेत्रमा चक्रवातको जोखिम

नेपालमा वर्षा र हिमपातको जोखिम बढ्नुको पृष्ठभूमिमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ रहेको छ। भारतको मौसम विज्ञान विभागले चक्रवात बुधबार आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा बापट्ला र विशाखापट्टनमबीचबाट जमिनमा प्रवेश गर्ने पूर्वानुमान गरेको थियो।

चक्रवातका कारण आन्ध्र प्रदेशका तटीय जिल्लामा तीव्र हावाहुरी र भारी वर्षा हुने जोखिम छ। तल्लो भूभागमा डुबान, रुख ढल्ने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने र सडक, रेल तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान गरिएको छ। दक्षिणी ओडिशालगायत आसपासका क्षेत्रमा पनि भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याइएको छ।

चक्रवात स्थलभागमा प्रवेश गरेपछि यसको तीव्रता घट्दै जान सक्ने भए पनि त्यससँग सम्बन्धित जलवाष्प र मौसमी प्रणालीको प्रभाव आन्तरिक भूभाग हुँदै नेपालसम्म फैलिन सक्छ।

त्यसैले भारतको तटीय क्षेत्रमा चक्रवातको जोखिमसँगै नेपालमा पनि वर्षा, बाढी, पहिरो र हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सतर्कता आवश्यक देखिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.