विश्व समाचार

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी)को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्‍याएका छन् ।

रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ ।

आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । सूचना प्रविधि कर्मचारीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेका छन् ।

अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या भए पनि पुराना विवरण वेबसाइटमा हेर्न सकिनेछ ।

एफइसीले उम्मेदवार तथा राजनीतिक समितिको खर्च अभिलेख राख्ने भए पनि निर्वाचन सञ्चालन गर्दैन । त्यसैले यो घटनाले मतदाताको मतदान गर्ने क्षमतामा असर पर्ने अपेक्षा गरिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत कायम राख्न सक्ने वा नसक्ने निर्धारण गर्ने निर्वाचनअघि साइबर घटना भएको हो ।

ट्रम्पले निर्वाचन निष्पक्ष भए परिणाम स्वीकार गर्ने बताउँदै आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने उल्लेख गर्नुभएको छ । उहाँले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गर्नुभएको थियो ।

निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । सीबीएस न्युजको सर्वेक्षणले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरेको छ ।

अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दा देखिएका छन् ।

डेमोक्रेट मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएकाले सहभागिताले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सर्वेक्षणले सङ्केत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.