विश्व समाचार

नोबेल शान्ति पुरस्कारलाई जोडेर अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नर्वेको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने बताउनुभएको छ । उहाँले मध्यावधि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नर्वेलाई आलोचना गर्दै यसलाई फोहोर राज्य (सिट हाउस कन्ट्री) भन्नुभएको छ।

नोबेल समितिले ‘शान्ति पुरस्कारका लागि आफूलाई नछानेको’ जनाउँदै नर्वेका आप्रवासीलाई अमेरिकामा स्वागत नगर्ने उहाँले बताउनुभएको छ ।

आइतबारको चुनाबी सम्बोधनमा उहाँले भन्नुभयो, “इमान्दारीपूर्वक भन्दा, नर्वे सकिन्छ । नर्वे वास्तवमै फोहोर राज्य बनेको छ।” सन् २०२५ जनवरीमा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्ने चाहना खुलेरै व्यक्त गर्दै आउनुभएको छ ।

यस वर्षको पुरस्कार दक्षिण अफ्रिकाकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार प्रमुख नवी पिल्लाईलाई दिने निर्णय गरिसकिएको छ । राष्ट्रपति ट्रम्पले समितिको यो निर्णयलाई ‘लज्जास्पद’ भन्दै पुरस्कार आफूलाई दिनुपर्ने दाबी गर्नुभएको छ।

आइतबार पोर्ट ह्युरन (मिचिगन) मा नोभेम्बर ३ मा हुने महत्वपूर्ण अमेरिकी मध्यावधि चुनावअघि आयोजित सभामा उहाँले केही देशका आप्रवासीलाई स्वागत गर्ने तर नर्वेलाई नगर्ने बताउनुभएको थियो ।

उहाँले नर्वेका आप्रबासीलाई अमेरिकामा स्वागत नगरिनुको कारण नोबेल पुरस्कारका लागि आफूलाई योग्य नठहराउनुलाई लिनुभएको छ । उहाँले भन्नुभयो “म नर्वेबाट कोही पनि चाहन्न किनकि मैले नोबेल पुरस्कार पाइनँ।”

नर्वेका आप्रवासीबारे कुनै नयाँ अमेरिकी नीति आउने आधिकारिक सङ्केत भने छैन । नर्वेका परराष्ट्रमन्त्री एस्पेन बार्थ आइडेले नोबेल पुरस्कारबारे ट्रम्पका टिप्पणीमा प्रतिक्रिया दिँदै पुरस्कार छनौटका लागि समिति स्वतन्त्र रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय प्रसारण माध्यम एनआरकेसँग कुरा गर्दै उहाँले भन्नुभयो, “उहाँलाई राम्रोसँग जानकारी छ, नोबेल समिति स्वतन्त्र छ। कसैलाई शङ्का भए भने हामीले उहाँलाई त्यसबारे सम्झाएका छौँ र अहिले पनि त्यही अवस्था छ।”

ट्रम्पले पहिलो कार्यकालमा सन् २०१८ मा पनि हैटी र केही अफ्रिकी देशहरूलाई यस्तै अश्लील शब्द प्रयोग गरेर आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.