कृषि

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गर्नुभयो ।

गत असोस २५ गते चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ ।

जसका कारण आवतजावतमा समस्या भएको हो । बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो ।

गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्नसक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएका छन्, तर खच्चड हिँडाउन सकिँदैन । झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन ।”

लामाले चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित दुई हजार ६५० मिटर उचाइमा अवस्थित बगैँचामा विभिन्न प्रजातिका स्याउखेती गर्नुभएको छ । इन गोरखा प्रोडक्ट प्रालि नामक उहाँको स्याउ फर्ममा यस वर्ष एकलाख केजी स्याउ उत्पादन भएको उहाँ बताउनुहुन्छ ।

गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटमा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको लामाको भनाइ छ ।

“फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ । गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो । अहिले बिग्रन थालिसके”, उहाँले भन्नुभयो, “भदौ २१ गते गएको थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएर विद्युत् नहुँदा ड्रायर पनि चलेको छैन । त्यसैले स्याउको सुकुटी पनि बनाउन पाइएन ।” यस वर्ष स्याउको उत्पादन राम्रो भए तापनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेरजाने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो ।

मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो । तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ । नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पुर्याउन करिब एकहप्ता लाग्छ ।

यसोगर्दा २० देखि २५ प्रतिशत स्याउ खेरजाने हुन्छ । साँघुरो बाटामा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेरजाने समस्या रहेको किसान बताउँछन् ।

हेलिमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या हुन्छ मनास्लुका किसानलार्ई । “आधा, आधी स्याउ खेर गए पनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो । बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन । हामी साह्रै मर्कामा छौँ”, व्यवसायी लाक्पा डुन्डुप भन्नुहुन्छ ।

सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउलगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन । बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसान घाममा सुकाएको भरमा स्याउको सुकुटी र मदिराजन्य पदार्थ बनाउनमा लागेका छन् । धेरै उत्पादन हुनेहरुको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउनेबाहेक अरु उपाय छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.