विश्व समाचार

मस्कोमाथि दबाब बढाउन ईयूको आग्रह

युक्रेनको रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमणबाट कम्तीमा १४ जनाको मृत्यु भएपछि युरोपेली सङ्घ (ईयू) ले रुसमाथि दबाब थप बढाउन अन्तर्राष्ट्रिय साझेदारहरूलाई आग्रह गरेको छ।

ईयूका वरिष्ठ अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सामाजिक सञ्जालमार्फत युक्रेनका सर्वसाधारणलाई लक्षित गरी रुसले गरेको आक्रमणको निन्दा गर्दै मस्कोमाथि दबाब बढाउनुपर्ने बताउनुभएको हो।

“युक्रेनका नागरिकमाथि रुसले फेरि क्रूर र विनाशकारी आक्रमण गरेको छ,” कोस्टाले भन्नुभएको छ, “न्यायपूर्ण र दीर्घकालीन शान्ति कायम नभएसम्म ईयूले रुसमाथि दबाब बढाउने र युक्रेनलाई सहयोग गर्ने काम जारी राख्नेछ। हाम्रा सबै अन्तर्राष्ट्रिय साझेदारलाई पनि त्यसै गर्न आग्रह गर्दछौँ।”

बिहीबार युक्रेनको ड्निप्रोस्थित रेल्वे स्टेसनमा भएको आक्रमणमा यात्रुले भरिएको प्लेटफर्मलाई निशाना बनाइएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ।

उहाँका अनुसार आक्रमणका बेला उक्त प्लेटफर्ममा नियमित रूपमा सञ्चालन हुने एउटा यात्रुवाहक रेल र अर्को यात्रुवाहक रेल रोकिएका थिए।

ईयूकी विदेश नीति प्रमुख काजा कलासले पनि रुसविरुद्धको दबाब र युक्रेनलाई दिइने सहयोग थप सुदृढ बनाउन साझेदार मुलुकसँग आग्रह गर्ने बताउनुभएको छ।

उहाँले यसै साता हुने ईयू–क्यानडा शिखर सम्मेलन र अक्टोबर ३०–३१ मा अमेरिकाको एटलान्टामा आयोजना हुने जी–२० का विदेशमन्त्रीहरूको बैठकमा यस विषयलाई उठाउने जानकारी दिनुभयो। “रुसलाई उसका गतिविधिका लागि जवाफदेही बनाउनुपर्छ,” कलासले भन्नुभएको छ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले बिहीबार युक्रेनी सेनाका लागि सामग्री आपूर्ति गरिरहेको एउटा मालवाहक पानीजहाजलाई निशाना बनाएको दाबी गरेको छ।

मन्त्रालयका अनुसार ओडेसा बन्दरगाहतर्फ युक्रेनी सशस्त्र बलका लागि सामग्री बोकेर गइरहेको ड्राइ कार्गो जहाजमाथि रुसी सेनाले आक्रमण गरेको हो।

रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनालाई सहयोग पुर्‍याउने बन्दरगाहका पूर्वाधार र पानीजहाजलाई लक्षित गरी ड्रोन आक्रमण जारी राखिएको पनि जनाएको छ।

यता, मस्कोका नगरप्रमुख सर्गेई सोब्यानिनले रातभर गरिएको आक्रमणका क्रममा युक्रेनबाट प्रहार गरिएका ६१३ मध्ये २३१ भन्दा बढी ड्रोन खसालिएको दाबी गर्नुभएको छ।

रुस र युक्रेनबीच जारी युद्धका क्रममा दुवै पक्षबाट एकअर्काविरुद्ध प्रत्याक्रमण भइरहेका छन्। पछिल्लो समय ऊर्जा केन्द्र, पूर्वाधार, सैन्य अखडा र बन्दरगाहलाई निशाना बनाउने क्रम बढेको छ।

सन् २०२२ को फेब्रुअरीदेखि जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि समाधानका दिशामा ठोस प्रगति हुन सकेको छैन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.