जापान

चलचित्र ‘पेन्सनपट्टा’को जापान प्रदर्शनबाट संकलित रकम राहत कोषमा

एनआईटिभी नेपाल/न्यू आईटी भेन्चर, तमु धीं जापानले बाढी पीडितका लागि दोस्रो चरणको सहयोग प्रदान गरेका छन् । सो सहयोग नेपालमा अत्यधिक सफल भएको चलचित्र ‘पेन्सनपट्टा’को जापान प्रदर्शनबाट संकलन भएको रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गरिएको छ।

एनआईटिभी नेपाल/न्यू आईटी भेन्चर, तमु धीं जापानको आयोजनामा यही अक्टोबर १२ का दिन टोकियोमा चलचित्र प्रदर्शन गरिएको थियो । त्यसबाट संकलित १ लाख ६२ हजार ७१६ रुपैयाँ (१ लाख ७१ हजार ५५ येन) राहत कोषमा प्रदान गरिएको हो ।

कार्तिक १३ गते बिहिबार एनआईटिभी नेपाल/न्यू आईटी भेन्चर, तमु धीं जापान तथा माओत्से गुरुङ फिल्म्सका तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन समक्ष मन्त्रीको सचिवालय सिंहदरबारमा पुगेर हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा एनआईटिभी मिडियाका तर्फबाट दुर्गा पौडेल, मिनबहादुर गुर्मछान र यादब देवकोटाको उपस्थिति थियो भने तमु धीं जापानको प्रतिनिधित्व गर्दै पत्रकार नबिनबाबु गुरुङ, अनिता गुरुङ, सावित्री घले, देबेन गुरुङ तथा अन्नाकुमारी गुरुङको उपस्थिति रहेको थियो ।

सहयोग रकम प्रदान गरेकामा धन्यवाद दिंदै मन्त्री पुनले अहिलेसम्म राहत कोषमा देश विदेशमा रहेका नेपाली तथा सघसंस्थाहरुबाट प्राप्त रकम झण्डै २० अर्ब रुपैयाँ पुग्न लागेको र सो रकम योजनाबद्ध ढंगमा खर्च गरिने बताउनुभयो ।

राहत कोषमा सहयोगकर्ताहरूले प्राकृतिक विपद्मा परेका नेपालीलाई सहयोग गर्नु विश्वको जुनसुकै कुनामा रहे पनि प्रत्येक नेपालीको राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गर्दै सोही भावनाअनुसार रकम उपलब्ध गराएको बताएका छन्।

सहयोगकर्ताहरूले विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र पुनर्वास र जनजीवन सहज बनाउँदै पीडितको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन उपयोग हुने विश्वाससमेत व्यक्त गरेका छन्।

यसअघि तमु धीं जापानका तर्फबाट ४ लाख ५९ हजार येन तथा एनआईटिभी नेपालरन्यू आईटी भेन्चर, नेपालजापान डटकम र परिवारका तर्फबाट पहिलो चरणमा १ लाख ११ हजार १११ रुपैयाँ राहत कोषमा हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.