अर्थकर्पोरेट/पर्यटन

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ ।

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० सङ्कलन गरेको हो ।

विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजश्व सङ्कलन भएको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन भएको हो ।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् ।

साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४९३ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उहाँले जानकारी दिनुभयो ।

यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीजरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.