भारतमा लैजाँदै गरेका हुम्लाका २५ बालबालिकाको उद्धार
भारतमा अध्ययन गराउने भन्दै लैजाँदै गरेका हुम्लाको सिमकोट गाउँपालिका–८ का २५ बालबालिकालाई सकुशल उद्धार गरी घर फर्काइएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्काइएका बालबालिकालाई हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको छ । भारततर्फ लैजाँदै गर्दा गड्डाचौकी नाकाबाट फिर्ता गरिएका उनीहरूलाई विभिन्न निकायको समन्वय र पहलमा शुक्रबार हुम्ला ल्याएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।
बालबालिकालाई सुरक्षित रूपमा घर फर्काउन शान्ति बाल पुनःस्थापना गृह महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पहल गरेका थिए । जिल्ला प्रहरी कार्यालय हुम्लाको आवश्यक सहयोग र समन्वयमा जिल्लामा ल्याइ आज परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढा तथा गाउँका अगुवाको सहयोगमा सबै बालबालिकालाई सकुशल जिल्ला पुर्याएर अभिभावकको जिम्मा लगाइएको हो । (रासस)




प्रतिक्रिया राख्नुहोस्