जापान

दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको चोरी भएको घडी माफीपत्रसहित फिर्ता

जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घडी चोरी भएको एक सातापछि पसलमा प्याकेजमार्फत फिर्ता पठाइएको हो ।

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए । तर, चोरी भएको घडी भएको प्याकेज र त्यससँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोट पसलमा प्राप्त भएपछि घटनाले नयाँ मोड लिएको हो ।

असाही सिम्बुनलगायत जापानी सञ्चारमाध्यमले सोमबार अज्ञात अनुसन्धान स्रोतलाई उद्धृत गर्दै घडी फिर्ता आएको समाचार प्रकाशित गरेका छन् । घडीको सिरियल नम्बरबाट चोरी भएको वस्तु पहिचान गरिएको बताइएको छ ।

एएफपीले सम्पर्क गर्दा सम्बन्धित पसलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । असाही सिम्बुनका अनुसार टोकियो प्रहरीले चोरीमा संलग्न भएको आशङ्कामा व्यक्तिको खोजी जारी राखेको छ ।

यसै वर्ष अगस्टमा सोही सपिङ कम्प्लेक्सको अर्को पसलबाट दुई करोड येन मूल्यका चारवटा महँगा घडी चोरी भएका थिए ।रासस/एएफपी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.