जन सरोकार

ममताले आत्महत्या गरेको नरेश भट्टको दाबी, शव टुक्राटुक्रा पारेर फालेको स्वीकार

अमेरिकाको भर्जिनिया राज्यमा दुई वर्षभन्दा बढी समयदेखि बेपत्ता रहेकी नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टले अदालतमा सनसनीपूर्ण बयान दिएका छन्। उनले ममताले आत्महत्या गरेको दाबी गर्दै आफूले उनको शव टुक्राटुक्रा पारेर विभिन्न फोहोर फाल्ने स्थानमा विसर्जन गरेको स्वीकार गरेका छन्।

पत्नीको हत्या गरेको, शव अपवित्र बनाएको र लुकाएको अभियोगमा मुद्दा खेपिरहेका भट्टले बिहीबार अदालतमा बयान दिने क्रममा आफूले सन् २०२४ जुलाई ३० को बिहान ममताको शव घरकै मुख्य सुत्ने कोठामा फेला पारेको बताएका हुन्। तर ममताको शव अहिलेसम्म फेला परेको छैन।

भट्टले जुलाई २९ को रात उनी दम्पतीकी सानी छोरीसँगै अर्को कोठामा सुतेको र भोलिपल्ट बिहान करिब ४ बजे बाथरुम जान मुख्य सुत्ने कोठामा पुग्दा ममता भुइँमा मृत अवस्थामा भेटिएकको बताए ।

उनले ममताको शरीर र छेउको भुइँमा बान्ता देखिएको तथा बान्तामा औषधिका चक्की पनि रहेको बताए। नजिकै औषधिको बोतल र विषादीका खुला प्याकेटसमेत भेटिएको उनको दाबी थियो। बान्तामा विषादीको रासायनिक पदार्थ रहेको जस्तो देखिएको पनि उनले अदालतमा बताए।

भट्टले ममतालाई बचाउन आफूले ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको दाबी गरे। भट्टले अदालतलाई बताएअनुसार उनले श्रीमतीलाई छामेर हेरेका थिए, बोल्ने प्रयास गरेका थिए र सिपिआर लगायतका जीवनरक्षक उपायहरू अपनाएका थिए ।

त्यसपछि उनलाई घिसारेर बाथरुममा पुर्‍याई पानी खुवाउने प्रयास गरे पनि उनी श्वासप्रश्वासविहीन र कुनै प्रतिक्रिया नदिने अवस्थामा रहेको उनको भनाइ थियो।

आफ्ना वकिलले प्रहरीलाई किन खबर नगरेको भनेर सोध्दा भट्टले आफू निकै डराएको र आत्तिएको जवाफ दिए।

‘त्यतिबेला म निकै डराएको थिएँ। किन प्रहरीलाई खबर गरिनँ भन्ने मलाई थाहा छैन। मैले फोन गर्ने प्रयास गरेको थिएँ। म अत्यन्तै आत्तिएको थिएँ’उनले भने।

शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार

अदालतमा बयान दिने क्रममा भट्टले ममताको शव लुकाउन सुरुमा घरबाहिर राखिएको फोहोरको डस्टबिनमा राख्ने प्रयास गरेको बताए। त्यसपछि उनले छोरीलाई हेरचाह गर्ने व्यक्तिलाई सम्पर्क गरी छोरीलाई उनको घरमा पुर्‍याएको र शव लुकाउन आवश्यक सामग्री खोज्न होम डिपो गएको बताए।

होम डिपोबाट पञ्जा किनेको विषयमा सोधिएको प्रश्नमा भने उनले त्यसको स्पष्ट कारण खुलाउन सकेनन्।

भट्टले ममताको शव घरमै राखेर एकदेखि डेढ दिनको अवधिमा टुक्राटुक्रा पारेको र फोहोरका डस्टबिनमा राखेर फालेको स्वीकार गरेका छन्। शव टुक्राटुक्रा पार्न आरा र चक्कु प्रयोग गरेको उनले बताए।

यसअघि अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका सीसीटीभी फुटेजमा भट्टले पञ्जा लगाएर विभिन्न फोहोर फाल्ने स्थानमा धेरैवटा झोला फालेको देखिएको थियो। तर भट्टले ती झोलामा ममताको शव नभई उनका व्यक्तिगत सामान रहेको दाबी गरेका छन्।

सेनामा रहँदा मानसिक स्वास्थ्य समस्या भएको दाबी

बुधबारदेखि सुरु भएको बयानमा भट्टले आफ्नो बाल्यकाल, नेपालमा बिताएको जीवन र अमेरिकाको बसाइबारे पनि बताएका थिए।

नेपालमा बाल्यकाल निकै कठिन अवस्थामा बिताएको उल्लेख गर्दै उनले भिरालो ठाउँमा बनेको सामान्य घरमा अन्य परिवारसँगै बस्ने गरेको बताए। पर्याप्त खानेकुरा नहुने तथा घरमा तापक्रम नियन्त्रण गर्ने कुनै सुविधा नरहेको उनको भनाइ थियो।

पछि अमेरिका पुगेका उनले विभिन्न सामान्य काम गरेपछि अमेरिकी सेनामा भर्ना भएको बताए। सेनामा रहँदा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अनुभव गरेको र राति नराम्रो सपना देखेर चिच्याउँदै उठ्ने, अत्यधिक पसिना आउने तथा मुटुको धड्कन बढ्ने समस्या रहेको उनले अदालतमा बताए।

भट्टले ममतासँगको सम्बन्ध पछिल्ला महिनाहरूमा बिग्रिएको र दुवैबीच राम्रो व्यवहार हुन छाडेको पनि स्वीकार गरे। तर उनले पत्नीमाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।

कार्पेटमा भेटिएको रगत ममताकै भएको फरेन्सिक विज्ञको दाबी

यसअघि सोमबार सरकारी वकिल पक्षले आफ्नो प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेको थियो। अभियोजन पक्षले फरेन्सिक विज्ञ, पारिवारिक साथी र ममताका भाइ महेश काफ्लेलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो।

अदालतमा बयान दिने फरेन्सिक विज्ञान विभागका एक विशेषज्ञले मुख्य सुत्ने कोठाको कार्पेटमा भेटिएको अधिकांश रगत ममताकै भएको सम्भावना अत्यन्त उच्च रहेको बताएका थिए।

फरेन्सिक प्रमाण विश्लेषक आइरिस डेली ग्राफले पनि घटनास्थलको विश्लेषण प्रस्तुत गर्दै अभियोजन पक्षको दाबीलाई बल पुर्‍याउने प्रमाणबारे व्याख्या गरेकी थिइन्।

उनका अनुसार कोठामा रहेको खाट सुरुमा एक ठाउँमा थियो तर पछि सारिएको देखिन्छ। खाट सारेर कार्पेटमा रगत लागेको भाग छोपिएको हुन सक्ने उनको विश्लेषण थियो।

कार्पेटको माथिल्लो भागमा रगतका केही दाग नदेखिनु र तल्लो भागमा रगत भेटिनुले कार्पेट सफा गरिएको हुन सक्ने संकेत गर्ने उनले बताइन्। उनले खाटनजिकैबाट मुख्य बाथरुमसम्म रगत घिसारिएको हुन सक्ने अवस्थासमेत चित्रमार्फत प्रस्तुत गरेकी थिइन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.