रुसले जफत गरेको जापान टोबाकोको सम्पत्ति तत्काल फिर्ता गर्न टोकियोको माग
टोकियोले रुसमा जफत गरिएको जापान टोबाको कम्पनीको सम्पत्ति तत्काल फिर्ता गर्न मस्कोसँग माग गरेको छ। जासुसी गरेको आरोपमा एक जापानी पत्रकार पक्राउ परेपछि रुस र जापानबीचको सम्बन्ध थप तनावपूर्ण बनेका बेला जापानले यस्तो माग गरेको हो।
रुसको क्रेमलिनले बिहीबार जारी गरेको आदेशअनुसार जापान टोबाकोको सम्पत्ति नियन्त्रणमा लिइएको हो। अन्तर्राष्ट्रिय प्रतिबन्धको जवाफस्वरूप विदेशी कम्पनीहरूमाथि कारबाही गरिएको मस्कोको दाबी छ। रुसमा विदेशी कम्पनीको व्यावसायिक गतिविधिमाथि नियन्त्रण कायम गर्ने पछिल्लो कदमका रूपमा यसलाई हेरिएको छ।
मिडिया रिपोर्टका अनुसार जापान टोबाको विश्वका ठूला सूर्तीजन्य पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। रुसको चुरोट बजारमा यस कम्पनीको हिस्सा करिब ४० प्रतिशत रहेको छ।
जापान सरकारका प्रवक्ता मिनोरु किहाराले शुक्रबार रुस भ्रमणमा रहेका टोकियोका दुई वरिष्ठ अधिकारीले रुसका लागि जापानी राजदूतसँग मिलेर रुसी सरकारसमक्ष औपचारिक विरोध जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको बताउनुभयो।
जापान टोबाकोले पनि शुक्रबार आफ्ना चारवटा उत्पादन सहायक कम्पनीलाई रुसले अस्थायी नियन्त्रणमा लिएको जनाएको छ। कम्पनीले यस विषयमा सम्भावित कदमबारे मूल्याङ्कन गरिरहेको जनाएको छ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो समूहले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रतिबन्ध र नियमको पालना गर्दै रुसमा आफ्नो व्यावसायिक गतिविधि निरन्तर सञ्चालन गर्दै आएको छ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार जारी गर्नुभएको आदेशमा कम्पनीका सम्पत्ति ‘अस्थायी प्रशासन’ अन्तर्गत राखिने उल्लेख छ। आदेशअनुसार जापान टोबाकोको रुसी व्यावसायिक गतिविधिको नियन्त्रण ‘इन्डस्ट्रियल एसेट्स’ नामक रुसी कम्पनीलाई हस्तान्तरण गरिएको छ।
जापानी लगानीको सुरक्षाप्रति टोकियो सचेत
जापानका अर्थतन्त्र, व्यापार तथा उद्योगमन्त्री र्योसेई अकाजावाले शुक्रबार रुसमा रहेका जापानी व्यावसायिक हितमाथि हुन सक्ने जोखिमप्रति टोकियो सचेत रहेको बताउनुभयो।
रुसले जापान टोबाकोको सम्पत्ति नियन्त्रणमा लिँदा विरोध जनाउने अधिकारीहरू जापानी कम्पनीको सम्पत्ति सुरक्षाका लागि पहल गर्न व्यावसायिक भ्रमणमा रहेको पनि उहाँले जानकारी दिनुभयो।
यसअघि पनि रुसमा सञ्चालनमा रहेका विभिन्न युरोपेली कम्पनीले आफ्नो व्यावसायिक सम्पत्तिमाथिको नियन्त्रण गुमाएका छन्। पछिल्लो समय स्विस खाद्यवस्तु उत्पादक कम्पनी नेस्ले र फ्रान्सेली सुपरमार्केट कम्पनी अचानले पनि रुसी बजारमा आफ्नो व्यवसायमाथिको नियन्त्रण गुमाएका छन्।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजार छाडेका थिए। तर, केही कम्पनीले भने त्यहीँ आफ्नो व्यवसाय निरन्तर सञ्चालन गर्ने निर्णय गरेका थिए।
युक्रेन युद्धका कारण मस्कोमाथि प्रतिबन्ध लगाउने ‘अमित्र राष्ट्र’का कम्पनीहरूमाथि रुसले कडा वित्तीय प्रतिबन्ध लगाएको छ।
प्रशान्त महासागरका केही टापुमाथिको स्वामित्वलाई लिएर जापान र रुसबीच दशकौँदेखि विवाद रहँदै आएको छ। युक्रेन युद्धका विषयमा जापानले पनि रुसविरुद्धका केही अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएको छ।
यसैबीच, रुसी सुरक्षा निकाय एफएसबीले गत महिना होक्काइदो सिम्बुन पत्रिकाका जापानी पत्रकार युकी इमाईलाई रुसी भूमिमा ‘जासुसी गतिविधि सञ्चालन गरेको’ आरोपमा पक्राउ गरेको थियो।
रुसको विदेश मन्त्रालयले पनि जापानले आफ्नो देशभित्र जासुसी गतिविधि सञ्चालन गर्न पत्रकारहरूलाई योजनाबद्ध रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ। तर, जापानले भने यी आरोप अस्वीकार गर्दै आएको छ। (रासस/एएफपी)




प्रतिक्रिया राख्नुहोस्