राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार भएको खेलमा काठमाण्डु गोर्खाजसंग ३६ रनले पराजित हुँदा लुम्बिनीको अपराजित यात्रामा पूर्ण विराम लागेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनायो । काठमाण्डु को लागि डेभिड वार्नरले ५० बलमा ९ चौका र १ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय पारी खेले भने शाहील पटेलले ३६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाए । यी दुईले पहिलो विकेटको लागि १ सय ४ रनको साझेदारी गरेका थिए ।
त्यस्तै शहान अराचीगले १५ बलमा ३४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक रन जोड्न सकेनन् । लुम्बिनीका लागि अभिषेश गौतम, शेर मल्ल र रुवेन ट्रम्पलमानले समान दुई-दुई विकेट लिए । काठमाण्डुले दिएको १ सय ६१ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले १९ दशमलव ३ ओभरमा १ सय २४ रनमा अलाउर भयो ।
लुम्बिनीको लागि सन्दीप जोराले ४४, अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४ र रुवेन ट्रम्पलमान र शेर मल्लले समान ११-११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाण्डुको लागि जहानदाद खानले चार विकेट लिए बने करण केसीले दुई विकट लिँदा सन्तोष यादव, राशिद खान, शहान अराचीगले र शाहब आलमको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै काठमाण्डु चार खेलमा तीन जित र एक हारसहित छ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पाँच खेलमा तीन जित, एक हार र एक खेलमा वर्षाका कारण अङ्क बाँड्दा सात अंक सहित शीर्ष स्थानमा यथावत् रहेको छ ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् ।




प्रतिक्रिया राख्नुहोस्