नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । लगातार चार खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकालेको हो । जितसँगै पोखराले पाँच खेलबाट दुई अंक जोडेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न आफ्नो पाँचौँ खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो । दुई सय १८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।
पोखराको जितमा क्यानडाका ओपनर युवराज सिंह सम्राले शतकीय पारी खेले । उनले ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए ।
यससँगै सम्रा जारी सिजनमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । एनपीएलमा आफ्नो दोस्रो खेल खेलेका उनले प्रतियोगिताको इतिहासमा पोखराका लागि शतक बनाउने तेस्रो तथा समग्रमा शतक प्रहार गर्ने चौथो खेलाडीको कीर्तिमान पनि बनाए ।
सम्रालाई कप्तान कुशल भुर्तेलले उत्कृष्ट साथ दिए । उनले ३९ बलमा सात छक्काको मद्दतमा ६२ रन बनाए । सम्रा र भुर्तेलबीच दोस्रो विकेटका लागि १३६ रनको शतकीय साझेदारी भयो ।
यो जारी सिजनकै उच्च साझेदारी हो भने एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो । यसअघि सन् २०२४ को पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।
पोखराका लागि कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै ११ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित २५ रन जोडे । महेदी हसन पाँच रनमा आउट भए भने यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक तीन रनमा अविजित रहे ।
पोखराले यस सिजनमा पहिलोपटक २०० रनको आँकडा पार गरेको हो । एनपीएल इतिहासमा यो दोस्रो ठूलो योगफलसमेत हो । यसअघि सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो ।
२१८ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । उनले ३० बलमा एक चौका र दुई छक्का प्रहार गरे । त्यस्तै अरिफुल इस्लामले १३ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए भने दीपक डुम्रेले सात बलमा एक चौका र तीन छक्काको मद्दतमा २२ रन जोडे ।
कर्णालीका कप्तान सोमपाल कामीले २१ रन बनाए । उनी एनपीएलमा दुर्लभ मानिने ‘अब्स्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट भए । १५औँ ओभरको अन्तिम बलमा बललाई दुईपटक प्रहार गरेपछि उनलाई उक्त नियमअनुसार आउट दिइएको थियो । सूर्य तामाङले १३ रन बनाए ।
कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर जिशान आलम शून्यमा आउट भए भने मार्क वाटले आठ, डेभिड मिलरले सात, गुल्सन झाले दुई र नन्दन यादवले तीन रन बनाए । युवराज खत्री एक रनमा अविजित रहे ।
कर्णालीलाई सस्तैमा समेट्न पोखराका बलर मेहदी हसनले तीन विकेट लिए । धनन्जय लक्षणले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए भने कुशल भुर्तेल र विपिन खत्रीले दुई–दुई विकेट हात पारे । कर्णालीका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । मार्क वाटले एक विकेट लिए ।
सुरुवाती दुई खेल जितेर प्रतियोगितामा राम्रो सुरुवात गरेको कर्णालीको यो लगातार तेस्रो हार हो । पाँच खेलबाट चार अंक जोडेको कर्णाली हाल छैटौँ स्थानमा छ । लगातारको हारले टोलीको प्लेअफ यात्रामा समेत दबाब बढेको छ । कर्णालीले अब साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ ।




प्रतिक्रिया राख्नुहोस्