राजनीति

कोप–३१ : ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा आज नेपाल पभिलियनमा सञ्चालन भएको उक्त विशेष अन्तरक्रिया कार्यक्रममा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनले पारेको असर, क्षति न्यूनीकरण र स्वच्छ ऊर्जामा लगानी अभिवृद्धिका विषयमा गहन छलफल भएको थियो ।

प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको उक्त सत्रमा एसियाली प्रविधि संस्थान (एआईटी) थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण मिडल इस्ट टेक्निकल युनिभर्सिटी टर्कीएका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा मुकेश घिमिरेले गर्नुभएको थियो ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इ शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी हुनुहुन्थ्यो ।

छलफलको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा हालैको क्षति र जलवायु उत्थानशीलताको आवश्यकता विषयमा चर्चा भएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा हालै भएका क्षतिहरूबारे जानकारी गराउनुभएको थियो ।

इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले जलवायु क्षति र उत्थानशील पूर्वाधारसम्बन्धी क्षेत्रीय अनुभव तथा विश्वव्यापी नवीन प्रवृत्तिका बारेमा जानकारी गराउनुभएको थियो ।

छलफलको दोस्रो चरणमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधारका लागि योजना र लगानी विषयमा चर्चा गरिएको थियो । ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, रणनीति, ऊर्जा समिश्रण र ब्याट्री इनर्जी स्टोरेज सिस्टमको आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

इप्पानकी सदस्य गैरेले पूर्वाधारसँग जोडिएका निजी क्षेत्रका चुनौती र जोखिमबारे आफ्नो धारणा राख्नुभएको थियो । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले आफ्नो संस्थाको ऊर्जा लगानी अनुभव, वित्तीय संयन्त्र र नेपालको विशेष उदाहरणका रूपमा एनआईएफआरएको ग्रीन ऊर्जा बन्डबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ सुनाउनुभएको थियो ।

ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेले यस कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम, नेपालका उत्थानशीलताका प्राथमिकताहरू र जलवायु उत्थानशील एवं स्वच्छ ऊर्जा प्रणालीमा लगानी जुटाउने उपायहरूका बारेमा गहन छलफल गराएको बताउनुभयो । यसबाट जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीको वातावरण बनाउन मद्दत पुग्ने उहाँको भनाइ थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.