जन सरोकार

कमला पुल निर्माण अन्तिम चरणमा

तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले अन्तिम रूप लिन थालेपछि उत्साहित भएका छन् । पुल माथिको ढलानको काम सम्पन्न भइसको र पुललाई दुबै तर्फबाट जोड्न माटो हाल्ने काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले बताउनुभयो ।

माटो फिलिङको काम सकिएपछि पुल मङ्सिर पहिलो सातादेखि बाट पुर्ण रूपमा सञ्चालन गरिने प्रमुख महतोले बताउनुभयो । यस्तै हुलाकी सडक अन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्मको सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना खाली गराएको छ ।

प्रमुख महतोेका अनुसार सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, घुम्ती पसललगायत संरचना हटाएर सडक खाली गराईएको छ । पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि बाध्य भएर डोजर प्रयोग गरेर संरचना हटाइएको प्रमुख महतोको भनाइ छ ।

विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो । विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन । पुल जीर्ण भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो ।

पुल पुनःनिर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले गति लिएको प्रमुख महतोले बताउनुभयो । पुलका दुवैतर्फ पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणकार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

कमला नदीमा पुल नहुँदा तथा पुरानो पुलबाट आवतजावतमा समस्या भएपछि सिरहा र धनुषाका बासिन्दाले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावत गर्न डुङ्गा चढ्नुपर्ने अवस्था थियो ।

कतिपय अवस्थामा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको यातायात सम्पर्क थप सहज हुने धनुषाको कमला नगरपालिकाका स्थानीय सुमनकुमार यादवले बताउनुभयो ।

यसबाट दैनिक कामकाज, शिक्षा, स्वास्थ्य सेवा, व्यापार तथा अन्य सामाजिक गतिविधिका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कमला पुल सञ्चालनमा आउनु दुई जिल्लाका बासिन्दाका लागि यातायात सुविधामा सुधार मात्र नभई आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारको महत्वपूर्ण आधार बन्ने देखिन्छ । विशेषगरी कृषि उपज, स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीको ढुवानी सहज हुँदा स्थानीय बजार र व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.