जन सरोकारबिशेष

भीमफेदी ईभी दुर्घटना : दशजनाको मृत्यु, चालकसहित दुई मृतकको पहिचान खुल्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी ९ईभी० दुर्घटनामा मृत्यु भएका चालकसहित दुई जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने घटनास्थल आसपास थप एक घाइते बालक फेला परेपछि घाइतेको सङ्ख्या छ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृतक चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्करकुमार मण्डल हुनुहुन्छ । अर्का पहिचान खुलेका मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका सुवेक यादव हुनुहुन्छ ।

दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । घाइते हुनेमा तीन पुरुष र तीन बालक छन् । उनीहरूमध्ये पाँच जनाको उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको थियो भने पछि दुर्घटनास्थलनजिकैको झाडीमा थप एक बालक घाइते अवस्थामा फेला परेका थिए । उनलाई पनि उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गर्दा सडकबाट करिब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित १६ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।

मृतक र घाइतेमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका रहेको गाउँपालिका अध्यक्ष कृष्ण यादवले बताउनुभएको छ ।

उहाँका अनुसार एउटै टोलका करिब पाँच परिवारका सदस्य दुर्घटनामा परेका हुन् । उनीहरू काठमाडौँ उपत्यकामा फलफूल व्यवसाय गर्दै आएका र छठ पर्व मनाउन एउटै गाडी रिजर्भ गरेर गाउँ फर्किरहेका थिए ।

अध्यक्ष यादवका अनुसार दुर्घटनामा परेका परिवारका सदस्यलाई सहयोग तथा घटनाबारे थप जानकारी लिन आफू गाउँका अन्य व्यक्तिसहित घटनास्थलतर्फ जाँदै हुनुहुन्छ ।

गाडीधनी अवधेश चौधरीले भने चालकसँग राति १ बजेपछि सम्पर्क हुन नसकेको र दुर्घटनाबारे माइक्रो व्यवसायी सङ्घमार्फत जानकारी पाएको बताउनुभएको छ ।

दुर्घटनास्थल भिरालो र अप्ठ्यारो भूगोलमा रहेकाले उद्धारमा कठिनाइ भएको थियो । घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तथ्यगत अद्यावधिकबारेस् सुरुका समाचारमा पाँच जना घाइते भएको विवरण आए पनि पछि झाडीमा थप एक बालक फेला परेपछि घाइतेको सङ्ख्या छ पुगेको पछिल्लो विवरण छ ।

त्यस्तै, गाडी सडकबाट खसेको दूरी कतिपय प्रारम्भिक समाचारमा ५०० मिटर र पछिल्लो विवरणमा करिब ७०० मिटर उल्लेख छ । यात्रुको सङ्ख्यामा पनि सुरुमा १५ र पछिल्लो प्रहरी विवरणमा चालकसहित १६ जना भनिएको छ । माथिको समाचारमा पछिल्लो उपलब्ध विवरणलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.