राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्स सामू जितको लागि १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा १०५ रनमा अलआउट भयो । कर्णालीको लागि सोमपाल कामीले २८ रन बनाए भने हुसेन तलतले २४ रन जोडे । त्यस्तै गुलसन झाले १३ र पवन सराफले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीको लागि रोहित पौडेल, अभिशेष गौतम, किशोर महतो र डार्सी सर्टले समान दुई-दुई विकेट लिए भने रुबेन ट्रमपलम्यान र शेर मल्लको भागमा समान एक-एक विकेट रह्यो ।
प्लेअफ सम्भावना कायमै राख्न कर्णाली आज जित्नैपर्ने दबाबमा छ । तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुईमा मात्र जित हात पारेको छ ।
लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ । अंक तालिकाको तेस्रो स्थानमा रहेको लुम्बिनीले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
एनपिएल अन्तर्गत बिहीबारै भएको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटको पराजित गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्