राजनीति

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीए अन्ताल्यामा उहाँहरूबीच बिहीबार द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएकामा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिव गुटेरेसले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो ।

सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गर्नुभयो ।

भेटमा दुवै पक्षबीच भोटेकोशी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.