क्रिकेटखेल

एनपिएलको कीर्तिमानी स्कोर बनेको खेलमा पोखराको शानदार जित

क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुंगो लाग्यो

कुशल भुर्तेल र युवराज सिंह सम्राको अर्धशतकीय पारीमा एनपिएलको कीर्तिमानी स्कोर बनेको खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध शानदार जित निकालेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा पोखराले काठमाण्डुलाई ५५ रनले पराजित गरेको हो ।

जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । एनपिएलमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रन बनाएको थियो ।

जारी सिजनमा पोखरा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बनेको छ । जारी सिजनमा पोखराले कर्णाली याक्स विरुद्ध २१७ रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको अर्धष्टकीया पारी खेले । यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए ।

बलिङतर्फ काठमाण्डुका लागि करण केसीले दुई र जहानदाद खानले समान एक-एक विकेट लिए । पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाण्डु पारी १९ दशमलव ५ ओभरमा १६९ रनमै समेटियो । पोखराका लागि स्मित पटेलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए भने राशिद खानले २० बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३१ रन जोडे ।

त्यस्तै सोनु देवकोटाले २९ रन जोड्दा विल बोसिस्टोले २६ र जहानदाद खानले २४ रन बनाए । बलिङतर्फ पोखराका लागि दिनेश खरेलले चार विकेट लिए भने विपिन खत्रीले तीन विकेट लिँदा सनी बिक, युवराज साम्रा र रमेश मेन्डिसको भागमा समान एक एक विकेट रह्यो ।

सात खेलमा छात जित र तीन हारसहित ८ अंक जोड्दै तेस्रो स्थानमा रहेको काठमाण्डुले अब क्वालिफायर पुग्नका लागि बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ भने ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको साविक विजेता लुम्बिनी लायन्स र १० अंक जोड्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेल मंगलबार खेल्ने छन् ।

यसअघि आइतबारै भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.