जापानबिशेष

सी–ताकाइचीको हात मिल्यो, चीन–जापानको दूरी घट्ला ?

चीन र जापानबीच एक वर्षभन्दा लामो समयदेखि जारी कूटनीतिक तनावबीच चिनियाँ राष्ट्रपति सी चिनफिङ र जापानी प्रधानमन्त्री साने ताकाइचीबीच लगातार दोस्रो दिन भेटघाट र हात मिलाप भएको छ।

एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा बिहीबार चीनको शेन्जेनमा भएको भेटमा दुवै नेताले हात मिलाएर अभिवादन गरेका हुन्।

द जापान टाइम्सका अनुसार बिहीबारको भेटमा प्रधानमन्त्री ताकाइचीले राष्ट्रपति सीसँग केही समय कुराकानी गर्नुभएको थियो। यद्यपि उहाँहरूबीच भएको कुराकानीको विषयवस्तु भने तत्काल सार्वजनिक भएको छैन।

त्यसअघि बुधबार एपेक सम्मेलनमा सहभागी नेताहरूको स्वागतार्थ आयोजित रात्रिभोजमा पनि सी र ताकाइचीबीच हात मिलाप भएको थियो। एक वर्षभन्दा लामो समयदेखि दुई देशबीच जारी कूटनीतिक गतिरोधपछि भएको यो पहिलो प्रत्यक्ष भेटघाट हो।

दुई नेताबीचको पछिल्लो अभिवादनलाई सामान्य कूटनीतिक शिष्टाचारका रूपमा मात्र हेर्न सकिने अवस्था छैन। सम्बन्धमा आएको तिक्तताका कारण जापानी अधिकारीहरूले चिनियाँ राष्ट्रपतिले आफ्ना प्रधानमन्त्रीलाई सामान्य औपचारिक सम्मानसमेत दिन्छन् कि दिँदैनन् भन्ने विषयलाई विशेष चासोका साथ हेरिरहेका थिए।

त्यसैले लगातार दुई दिन भएको हात मिलापलाई दुवै देशबीचको सम्बन्धमा देखिएको सीमित सकारात्मक संकेतका रूपमा हेरिएको छ।

तर, दुई नेताबीच हात मिलाप भए पनि औपचारिक द्विपक्षीय वार्ता हुने वा सम्बन्ध सुधारको ठोस पहल हुने विषय भने अझै अनिश्चित छ।

ताइवानसम्बन्धी अभिव्यक्तिबाट बिग्रिएको सम्बन्ध

चीन र जापानबीचको पछिल्लो कूटनीतिक तनावको मुख्य कारण ताकाइचीले सन् २०२५ नोभेम्बर ७ मा जापानी संसद्मा व्यक्त गर्नुभएको अभिव्यक्ति हो।

उहाँले चीनले ताइवानमाथि सैन्य आक्रमण गरेमा वा जलमार्गमा नाकाबन्दी लगाएमा त्यसलाई जापानको अस्तित्वमै खतरा उत्पन्न गर्ने परिस्थिति मान्न सकिने र त्यस्तो अवस्थामा जापानको आत्मरक्षा बल परिचालन हुन सक्ने बताउनुभएको थियो।

ताइवानलाई चीनले आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ। आवश्यक परे बल प्रयोग गरेर पनि ताइवानलाई चीनमा गाभ्ने विकल्प खुला राखेको बेइजिङले जापानी प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप र चीनको सार्वभौमिकतामाथिको चुनौतीका रूपमा लिएको थियो।

चीनले ताकाइचीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै जापानसँग कूटनीतिक विरोध जनाएको थियो। तर जापानले उक्त धारणा आफ्नो लामो समयदेखिको सुरक्षा नीतिअनुरूप रहेको बताउँदै अभिव्यक्ति फिर्ता लिन अस्वीकार गर्दै आएको छ।

तनाव बढ्दै जाँदा दुई देशबीचको विवाद कूटनीतिक तहमा मात्र सीमित रहेन। चीनले आफ्ना नागरिकलाई जापान भ्रमण गर्दा सावधानी अपनाउन र जापानमा अध्ययन गर्न जाने विद्यार्थीलाई जोखिम मूल्याङ्कन गर्न आग्रह गरेको थियो।

चिनियाँ विमान सेवा कम्पनीहरूले जापान जाने उडानका टिकटमा रकम फिर्ता तथा मिति परिवर्तनको सुविधा दिएका थिए। जापानमा प्रदर्शन हुने तयारीमा रहेका केही चलचित्रको प्रदर्शन चीनले स्थगित गरेको थियो। दुई देशबीचको सांस्कृतिक आदानप्रदानका कार्यक्रमसमेत प्रभावित भएका थिए।

आर्थिक सम्बन्धमा पनि तनाव देखिएको छ। जापानको मोटरगाडी तथा प्रविधि उद्योगका लागि महत्वपूर्ण मानिने दुर्लभ खनिज (रेयर अर्थ) को निर्यातमा चीनले नियन्त्रण कडा बनाएको छ। जापानबाट समुद्री खाद्य पदार्थ आयातसम्बन्धी प्रक्रियामा पनि चीनले अवरोध गरेको थियो।

जापानबाट गाईको मासु आयात पुनः सुरु गर्ने विषयमा भइरहेको वार्तासमेत स्थगित भएको थियो। यसले दुई मुलुकबीचको व्यापारिक तथा आर्थिक सम्बन्धमा समेत असर पारेको छ।

यसबीच पूर्वी चीन सागरस्थित जापानको प्रशासनमा रहेको सेनकाकु टापु आसपास चिनियाँ तटरक्षक जहाजको गतिविधि पनि बढेको थियो। उक्त टापु समूहलाई चीनले दियाओयु नामले दाबी गर्दै आएको छ।

यस क्षेत्रको सार्वभौमिकतासम्बन्धी विवाद चीन र जापानबीच लामो समयदेखि कायम छ। ताइवानसम्बन्धी पछिल्लो विवादले यसअघिदेखिका क्षेत्रीय सुरक्षा र समुद्री सीमासम्बन्धी मतभेदलाई थप संवेदनशील बनाएको छ।

हात मिलाप भए पनि सम्बन्ध सुधारको संकेत अस्पष्ट

एपेक सम्मेलनमा ताकाइचीलाई चीनले दिएको स्वागत सत्कारको शैलीले पनि दुई देशबीचको असहज सम्बन्धलाई प्रतिबिम्बित गरेको छ।

अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई विमानस्थलमा उच्च अधिकारी र विशेष स्वागत कार्यक्रमसहित स्वागत गरिएकोमा जापानी प्रधानमन्त्रीलाई भने चिनियाँ विदेश मन्त्रालयकी पूर्व अधिकारी झाङ छियुयेले स्वागत गर्नुभएको थियो

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको स्वागतमा देखाइएको तामझामको तुलनामा जापानी प्रधानमन्त्रीको स्वागत सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

चिनियाँ राष्ट्रपति सी र जापानी प्रधानमन्त्री ताकाइचीबीच सन् २०२५ अक्टोबर ३१ मा दक्षिण कोरियामा आयोजित अघिल्लो एपेक सम्मेलनका क्रममा भेट भएको थियो। त्यसबेला दुवै नेताले रचनात्मक र स्थिर द्विपक्षीय सम्बन्ध अघि बढाउने सहमति जनाएका थिए।

तर त्यसको एक सातापछि नै ताइवानसम्बन्धी ताकाइचीको अभिव्यक्तिले सम्बन्धमा गम्भीर संकट निम्त्याएको थियो। त्यसयता उच्चस्तरीय भेटवार्ता र संवाद निकै सीमित बनेको छ।

यसपटक जापानले ताकाइची र सीबीच औपचारिक द्विपक्षीय वार्ता गराउन प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेन। जापानी अधिकारीहरूले चिनियाँ पक्षबाट आफ्ना प्रधानमन्त्रीलाई अन्य विश्व नेतासरह सामान्य कूटनीतिक सम्मान दिइने सुनिश्चित गर्नसमेत पहल गरेका थिए।

जापानी विदेश मन्त्रालयका प्रवक्ता तोसिहिरो कितामुराले सी र ताकाइचीबीचको हात मिलापलाई सामान्य कूटनीतिक प्रक्रिया भएको टिप्पणी गर्दै त्यसको विशेष अर्थ लगाउन नहुने बताउनुभएको थियो।

यसरी एक वर्षभन्दा लामो कूटनीतिक तिक्ततापछि दुई नेताबीच लगातार दुई दिन भएको अभिवादनले संवादको ढोका पूर्ण रूपमा बन्द नभएको संकेत गरे पनि ताइवान, क्षेत्रीय सुरक्षा, व्यापार र समुद्री विवादजस्ता आधारभूत मुद्दामा मतभेद कायमै छन्।

त्यसैले एपेक सम्मेलनमा भएको हात मिलापलाई तत्काल सम्बन्ध सुधारको उपलब्धिभन्दा पनि तनावपूर्ण सम्बन्धबीच कायम रहेको कूटनीतिक सम्पर्कका रूपमा हेरिएको छ।

(समाचार स्रोत : द जापान टाइम्स, रोयटर्स, द गार्जियन र द स्ट्रेट्स टाइम्स)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.