स्वास्थ्य

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको हुने सम्भावना बढ्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

महिलामा देखिने प्रमुख क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । अन्तरराष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोक्यान २०२४ प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर दुई लाख ४३ हजार ४०८ होइन, २४ लाख ३४ हजार ८७ जनामा नयाँ स्तन क्यान्सर देखिएको अनुमान छ । सोही वर्ष यसका कारण छ लाख ९३ हजार ६६० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार नेपालमा सन् २०२४ मा एक हजार ७४६ जनामा नयाँ स्तन क्यान्सर देखिएको र ७५० जनाको मृत्यु भएको अनुमान छ ।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले स्तनमा गाँठो आउनु, घाउ देखिनु, मुन्टोबाट रगत वा अन्य तरल पदार्थ निस्कनु तथा छालामा सुन्तलाको बोक्राजस्तो परिवर्तन देखिनुलाई बेवास्ता गर्न नहुने बताउनुभयो । यस्ता लक्षण देखिएमा घरेलु उपचारमा मात्र निर्भर नभई स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ ।

महिलाले आफ्नो स्तनको सामान्य आकार र बनावटबारे जानकारी राख्नुपर्छ । कुनै असामान्य परिवर्तन देखिएमा समयमै परीक्षण गराउनुपर्छ ।

स्वयं स्तन परीक्षण स्तनमा देखिने असामान्य परिवर्तन पहिचान गर्ने सहज विधि भएको डा शाहीले बताउनुभयो । उहाँका अनुसार १९ वर्ष उमेर पुगेपछि महिलाले महिनावारी भएको सातदेखि १० दिनभित्र नियमित रूपमा आफ्नो स्तन परीक्षण गर्नुपर्छ । महिनावारी बन्द भएका तथा गर्भवती महिलाले पनि नियमित रूपमा स्तनको आकार, स्वरूप र बनावटमा आएको परिवर्तनबारे सचेत रहनुपर्छ ।

स्तन क्यान्सर पहिचानका लागि चिकित्सकीय स्तन परीक्षण, अल्ट्रासाउन्ड, म्यामोग्राफी तथा आवश्यकताअनुसार बायोप्सी गरिन्छ । स्तन क्यान्सर महिला र पुरुष दुवैलाई हुन सक्छ ।

जीवनशैलीमा आएको परिवर्तन, मोटोपना, मद्यपान तथा धूमपान, शारीरिक निष्क्रियता र अस्वस्थ खानपान यसका सम्भावित जोखिम कारक हुन् । स्तनपान नगराउनुलाई पनि जोखिमसँग जोडिएको छ ।

स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान भए उपचार प्रभावकारी हुने भएकाले लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य परीक्षण गराउनुपर्ने डा शाहीले बताउनुभयो ।

स्तन क्यान्सरका सम्भावित लक्षणमा स्तन वा काखीमुनि नदुख्ने गाँठो आउनु, स्तनको आकार परिवर्तन हुनु, मुन्टो भित्र धसिनु, मुन्टोबाट पीप, रगत वा पानीजस्तो तरल पदार्थ निस्कनु, स्तन दुख्नु वा सुन्निनु तथा छालामा निको नहुने घाउ आउनु र सुन्तलाको बोक्राजस्तो देखिनु रहेका छन् ।

स्तन क्यान्सरको जोखिम घटाउन धूमपान तथा मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, तौल सन्तुलित राख्ने, पोषणयुक्त खाना खाने र स्तनको नियमित परीक्षण गर्ने गर्नुपर्छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.