राजनीति

कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड

बदलिँदो सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थितिअनुसार कम्युनिष्ट आन्दोलनको विचार, कार्यदिशा, सङ्गठन र कार्यशैली रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ ।

माक्र्सवादी ज्ञान केन्द्रले आफ्नो छैटौँ वार्षिक साधारणसभाका अवसरमा शनिबार चितवनको भरतपुरमा आयोजना गरेको ‘कम्युनिष्ट आन्दोलन रूपान्तरणको मार्गचित्र’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले आन्दोलनलाई समयअनुकूल बनाउनुपर्ने धारणा राख्नुभएको हो ।

पूर्वमन्त्री एवं नेकपाका सङ्गठन विभाग प्रमुख वर्षमान पुनले विश्व पुँजीवाद, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) ले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्ने बताउनुभयो । उहाँले जनताका दैनिक समस्या सम्बोधन गर्दै उनीहरूसँग जोडिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले माक्र्सवादको मूल मर्म समाज परिवर्तन र रूपान्तरण भएकाले बदलिँदो समाजअनुसार विचार र विश्लेषणलाई विकसित गर्नुपर्ने बताउनुभयो । एआईलगायत नयाँ प्रविधिले समाजलाई थप जटिल बनाउँदै लगेकाले वर्गीय विश्लेषणमा समेत नयाँ दृष्टिकोण आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष मनहरी तिमिल्सिनाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि रमाकान्त सापकोटा, करुणा पराजुली र वसन्त श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । महासचिव दृश्यान्त भट्टराईले साङ्गठनिक तथा कोषाध्यक्ष त्रिविक्रम ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा केन्द्रद्वारा प्रकाशित ‘एआई : वर्तमान र भविष्य’ पुस्तक लोकार्पण गरिएको थियो । विसं २०७७ मा कोरोना महामारीका समयमा स्थापना भएको केन्द्रले विभिन्न समयमा विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ ।

केन्द्रले भोलि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको उपमहासचिव सागर अधिकारीले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.