राजनीति

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

बाह्रखरी कथा लेखन प्रतियोगिताका विजेता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार र अनियमितताको अन्त्य तथा सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

“हामीसँग साधन र स्रोत सीमित छन् । जनताका सबै अपेक्षा तत्काल पूरा गर्न सम्भव नहुन सक्छ । तर उपलब्ध स्रोतको पारदर्शी, प्रभावकारी र इमानदार परिचालन गर्न सकियो भने विकास र समृद्धिको यात्रालाई गति दिन सकिन्छ”, सभामुख अर्यालले भन्नुभयो ।

साहित्यकारले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो ।

सभामुख अर्यालले समाजका वास्तविक समस्या र नागरिकका भावनालाई साहित्यले जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले जनप्रतिनिधि तथा नीति निर्माताले पनि साहित्यको अध्ययन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजले भोगेका दु:ख, सुख, सङ्घर्ष, अभाव, विकृति, विसङ्गति र परिवर्तनका आकांक्षालाई बुझ्ने सबैभन्दा सशक्त माध्यम साहित्य हो । कुनै सहरलाई माथिबाट हेर्दा त्यसको समग्र स्वरूप देखिएझै साहित्यको अध्ययनबाट समाजको वास्तविक अवस्था र चरित्र बुझ्न सकिन्छ ।”

‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ मा चेतनाथ आचार्यद्वारा लिखित ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथा प्रथम भएको छ । कार्यक्रममा सभामुख अर्यालले प्रथम स्थान हासिल गरेका आचार्यलाई रु दुई लाख पुरस्कार प्रदान गर्नुभयो ।

यस्तै मधुर भट्टराईद्वारा लिखित ‘सपनाको अर्को रङ्ग’ शीर्षकको कथा द्वितीय र सरस्वती सरसद्वारा लिखित ‘अस्तित्वको अल्गोरिदम’ शीर्षकको कथा तृतीय भएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ६० हजार पुरस्कार प्रदान गरिएको थियो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.