रासिद खानले पाँच विकेट लिएपछि कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ ले नेपाल सामू जितको लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रनमा समेटियो । पाकिस्तानको लागि रोहेल नजीरले ८३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ६४ रनको अर्धशतकीय पारी खेले भने हसन नवाजले २८ रन बनाए । त्यस्तै अहमद दनियालले १६ रन जोड्दा हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३-१३ रन बनाए ।
नेपालका लागि रासिदले पाँच विकेट लिए भने लिस्ट ए डेब्यू गरेका अभिशेष गौतमल दुई विकेट लिँदा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलको भागमा समान एक-एक विकेट रह्यो ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो । नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ ।
उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो ।
इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो । त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो ।
जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ मै रहेको पाकिस्तान चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।




प्रतिक्रिया राख्नुहोस्