राजनीति

पोखरा विमानस्थललाई कतारसँग जोड्ने पहल गर्न सभामुख अर्यालको आग्रह

सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालको पर्यटन र व्यापार प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीसँग मंगलबार सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको शिष्टाचार भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अपेक्षित अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसकेको अवस्थामा कतारजस्ता प्रमुख अन्तर्राष्ट्रिय हवाई सञ्जाल भएका मुलुकसँगको सहकार्यले नेपालको पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान पुर्‍याउन सक्छ ।

विशेष गरी खाडी मुलुकमा कार्यरत नेपाली श्रमिक, नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा व्यापारिक आवागमनलाई सहज बनाउन प्रत्यक्ष हवाई सम्पर्क विस्तार महत्वपूर्ण मानिन्छ ।

भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भोटेकोशी बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद दिँदै नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा थप सहयोगको अपेक्षा गर्नुभयो ।

सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिनुभयो ।

त्यसै गरी, नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालले आग्रह गर्नुभयो ।

त्यसै गरी नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावना उल्लेख गर्दै फलफूल, तरकारी र अन्नलगायतका उपज कतारमा निर्यात गर्न आवश्यक समन्वय गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

उहाँले खेलकुदको विकास र प्रवर्द्धनमा समेत दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र कतारबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिन तथा विश्व शान्ति र स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.