दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मधेस प्रदेश तथा महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको प्रदेश रङ्गशालामा मंगलबार भएको पुरुष फुटबलको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गरेको छ । पुलिसका धिरेन्द्र शाहले ३६औँ र सुजन मगरले ४६औँ मिनेटमा गोल गर्नुभएको थियो ।
त्यसैगरी, दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १–० गोलले हराएको छ । मधेसका विकास दर्लामीले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
बुधबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश तथा दोस्रो खेलमा कोशी र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
महिला बास्केटबलमा चार खेल सम्पन्न
दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलका चार खेल मंगलबार सम्पन्न भएका छन् । पहिलो दिनका खेलमा एपिएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती प्रदेश विजयी भएका छन् ।
फुल कोर्ट विधाको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ५२–१९ अङ्कले पराजित गरेको छ । अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ अङ्कले हराएको छ ।
त्यसैगरी, थ्री अन थ्री विधामा त्रिभुवन आर्मी क्लबले एपिएफलाई १७–१२ तथा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ अङ्कले पराजित गरेका छन् ।
पहिलो दिन महिला बास्केटबलका चार खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार मंगलबार सुर्खेत रङ्गशालामा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट तथा नेपालगञ्जमा पौडी र बर्दियामा टेनिसका खेल सम्पन्न भएका छन् ।(रासस)




प्रतिक्रिया राख्नुहोस्