खेल

जस्तो जित चाहिएको थियो त्यस्तै भयो थाइल्याण्डमाथि, उपाधीका लागि अब अरुको खेलमा निर्भर

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिता उपाधिको दावेदारीसहित थाइल्याण्ड गएको नेपाली क्रिकेट टोलीले सुरुका दुई खेलमा हार व्यहोर्यो । ती दुई हारपछि उपाधी होडलाई कायम राख्न बाँकी खेल भारी अन्तरले जित्नुपर्ने र माथिल्लो क्रममा रहेका टोलीहरुले हार्नुपर्ने स्थितिमा पुगेको नेपालले बुधबार थाइल्याण्डबिरुद्ध त्यस्तै खेल प्रदर्शन गर्यो ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर ६६ रन बनाएको हो ।

घरेलु टोली थाइल्याण्डका लागि हेन्नो जोर्डनले सर्वाधिक १३ रन बनाए भने विकेटकिपर फिरियापोङ सुअनचाई १२ रनमा अविजित रहे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन खर्चिएर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

यस्तै टी २० अन्तर्राष्ट्रिय डेब्यु गरेका भुवन कार्कीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले शुरुवाती तीन ओभर मेडन गरेपछि ४ ओभरमा ९ रन खर्चिए । उनले आफ्नो तेस्रो ओभरमा वाइडबाट १ रन दिएका थिए भने अन्तिम ओभरमा ८ रन खर्चिएका थिए । सन्दीपले १ विकेट लिए ।

पारस खड्काले २ ओभरमा ३ रन र कुशल मल्लले २ ओभरमा ४ रन खर्चिए ।थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल मल्लले अवजित ३६ र पवन सर्राफले अविजित २७ रन जोडे । पहिलो जितपछि नेपालले ३ खेलबाट २ अंक जोडेको छ ।

सामान्य स्कोर पछ्याउने क्रममा थाइल्याण्डविरुद्ध नेपालले ओपनिङमा परिवर्तन गर्दै पारस खड्का र कुशल मल्ललाई ओपनिङ गराएको थियो । तर पारस खड्का दोस्रो ओभरको तेस्रो बलमै व्यक्तिगत ९ रनमा आउट भए । त्यसपछि तेस्रो नम्बरमा ब्यटिङ गरेका पवन सर्राफले कुशललाई साथ दिए । पवनले सुरुवाती ३ बलमा रन जोड्न सकेनन् । त्यसपछि भने कुशल र पवनले विष्फोटक ब्याटिङ गरे । कुशलले तेस्रो ओभरमा लगातार ३ चौका र एक छक्का गरी १८ रन प्रहार गरेका थिए ।

यस्तै पवनले पाँचौं ओभरमा दुई छक्का र एक चौकासहित १६ रन जोडे । दोस्रो विकेटका लागि कुशल र पवनले अर्धशतकिय साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । कुशलले १८ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ३६ रन बनाए । यस्तै १० बल खेलेका पवनले २ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन जोडे ।

अब नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले शीर्ष दुईमा स्थान बनाउन अब सिंगापुर हङकङसँग पराजित हुनुपर्नेछ भने अन्तिम दिन हङकङले मलेसियालाई पनि पराजित गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.