राजनीति

बालुवाटार जग्गा प्रकरण- नेता जोगाउँदै लीलामणिसहित ४० जनालाई कारबाहीको सिफारिश

प्रधानमन्त्री निवास बालुवाटार परिसरको ललिता निवासले चर्चेको १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ४० जनाभन्दा बढीलाई कारबाहीको सिफारिश गरेको छ । सिआईबीको अनुसन्धान रिपोर्टमा नेतालाई नमुछिकन पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

सीआईबीले कारबाही सिफारिस गरेका अन्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारी र सुधीर शाह छन् । त्यस्तै, मुख्य योजनाकार भनिएका डा शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भोगाधिकारी रुक्मशमशेर राणा, हेमाद्री राणा, गेहनाथ भण्डारीलाई पनि कारबाही गर्नुपर्ने भनिएको छ ।

सरकारले २८ फागुन ०७५ मा जग्गा हडप्नेमाथि अनुसन्धान गर्न भन्दै तीन महिनाको समय दिएको थियो । त्यसपछि १२ असार र २२ भदौमा गरेर दुईरदुई महिना अनुसन्धानका लागि समय थप भएको थियो ।

सिआईबीले जग्गा विक्री प्रकरणमा निर्णय प्रक्रियामा संलग्न कर्मचारी, राणा परिवार, मोही लगायत दर्जनौं व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदको कार्यदेश बमोजिम अनुसन्धान थालेको ले कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुर्‍याएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको हो । ब्युरोले गरेको अनुसन्धान प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले बिहीबारै गृह मन्त्रालयमा बुझाइसकेका छन् ।

सीआईबीले उनीहरुमाथि कीर्ते जालसाँझी, सरकारी सम्पत्ति हिनामिना र ठगीको कसूर अन्तरगत कारवाही अघि बढाउन भनेको छ । ब्युरोले अनुसन्धानका क्रममा करिब एक सय जनासँग बयान लिएको थियो । तर, अधिकांशले आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.