वर्तमान राजनीतिक अवस्था र भविष्यको सम्भावना
नेपालको राजनीतिमा व्यवस्थाहरु जति सजिलै परिवर्तन हुँदैआयो सोही अनुसार जनताको अवस्थामा सुधार नआएको कुरा सर्वस्वीकार्य विषय हो । यो केवल आरोप मात्र नभएर दशकौंदेखि राजनीतिमा सक्रिय, पटकपटक मुलुक संचालनको जिम्मेवारी पाएकाहरुले नै यो कुरा स्वीकार्ने गरेका छन् ।
जनतामा बढ्दै गएका निराशा, हरेक क्षेत्रमा बढिरहेको दलीयकारण, संविधानको पालना केवल सत्तास्वार्थमा मात्र हुने, जनताका आधारभूत आवश्यकताका न्यूनतम सुविधा दिन पनि अग्रसर नहुने, जनतालाई केवल भोट बैंक मात्र मान्ने प्रवृत्ति र हरेक कुरामा दलीय आबद्धता खोज्ने परिपाटीले मुलुकमा सुशासनको धज्जी उडाएको यथार्थ पनि लुकाउन सकिन्न ।
जनताले हरेक निर्वाचनमा अब तत केही हुन्छ कि भन्ने आशाका साथ मतदानमा सहभागी भएर संसद र सत्तामा पुर्याएकाहरु तिनै जनताको आकांक्षा पूरा गर्नेतिर नभै आफू, आफ्नो दल, गुटलाई काखी च्यापेर अघि बढ्दा जनतामा विद्रोहको वाला फुटेको हो ।
गत भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसमा भएको दमनको उपजका रुपमा मच्चिएको २४ गतेको विध्वंशलाई आफू बच्नका लागि जेजस्तो आरोप लगाउने गरिए पनि त्यो पूर्णसत्य मान्न सकिन्न । किनभने सत्ता जोगाउन अरुलाई आरोप लगाउने, आफू जोगिन अरुलाई दोषी देखाउने परिपाटीको विकास भएकै कारण नेपालको राजनीति पछिल्ला केही वर्षदेखि संक्रमणकालीन अवस्थामै छ ।
संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको यो १८ वर्षमा मुलुकले कस्तो गति लिनुपथ्र्यो, राजनीतिक स्थिरता, आर्थिक वृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा कुन रुपमा विकास हुनुपथ्र्यो त्यो हुन नसकेको हो । यसको एउटै कारण व्यवस्था बदलिए पनि व्यवस्थापक उही हुनु हो ।
अहिले अवस्था बदलिएको छ । देश निर्वाचनमा होमिएको छ । जेनजी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारले निर्वाचनको तयारी तीब्र पारिसकेको छ भने राजनीतिक दलहरुलाई निर्वाचन लागिसकेको छ । नेपालको वर्तमान राजनीतिक अवस्थामा यो निर्वाचनले ठूलै फेरबदल ल्याउने आम अपेक्षा एकातिर छ भने मुलुकका प्रमुख चुनौतीहरू, र भविष्यका सम्भावनाहरूका बारेमा पनि अनेक विश्लेषण भैरहेको छ ।
१८ वर्षको यो अभ्यासमा नेपालको राजनीति गठबन्धन केन्द्रित नैदेखिन्छ। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा सरकार निर्माण र सञ्चालन गठबन्धनमा निर्भर छ। यसले सरकारलाई अल्पकालीन बनाएको छ र नीतिगत स्थिरता कमजोर भएको छ। सरकार परिवर्तनको सम्भावना सधैं रहँदा दीर्घकालीन विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन कठिन भएको देखिन्छ। राजनीतिक स्थायित्वको अभावमा मुलुकको समग्र क्षेत्र कमजोर छ ।
यससंगै राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्र कमजोर हुनु अर्को गम्भीर समस्या हो। नेतृत्व पुस्तान्तरण, नीति भन्दा व्यक्तिकेन्द्रित राजनीति, र शक्ति संघर्षका कारण दलहरू जनअपेक्षाबाट टाढा हुँदै गएको अनुभूति जनतामा बढ्दो छ। नयाँ शक्तिहरुमाथि लगातारको आक्रमण, आफूलाई सही सावित गर्न एकपछि अर्को गल्ती गर्दै जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति निराशा र अविश्वासको वातावरण सिर्जना गरेको हो ।
अहिलेसम्मको अभ्यासमा संघीयता कार्यान्वयनको सन्दर्भमा पनि निकै ठूला चुनौतीहरू देखिन्छन्। प्रदेश सरकारहरूको अधिकार, स्रोत साधनको व्यवस्थापन, र संघसँगको समन्वय स्पष्ट नहुँदा संघीय संरचनाको प्रभावकारिता प्रश्नमा परेको छ। संघीयताको इज्जत स्थानीय तहले धानिदिएका छन् । देश विकासको गतिमै छ भन्ने झिनो झलक पालिकाहरुले दिएका छन् । यसले राजनीतिको लाज ढाकिदिएको छ र मर्दैगएकको विश्वासमा केही सकारात्मकता जोगाइराखेको छ । यद्यपि समग्र प्रणाली अझै सुदृढ भइसकेको छैन।
नेपालको सबभन्दा ठूलो चुनौति सुशासन र अर्थतन्त्रमा परेको छ। भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, र कमजोर सेवा प्रवाह रहेको छ । राजनीतिक अस्थिरता र दलीयकरणको प्रत्यक्ष असर यी क्षेत्रमा परेका छन् । बढ्दो बेरोजगारी, वैदेशिक रोजगारमा निर्भरता र उत्पादनशील क्षेत्रको कमजोर अवस्थाले आर्थिक समस्या राजनीतिक प्राथमिकतामा पर्याप्त रूपमा पर्न सकेको छैन । कागजी घोडा दौडाएर तथ्यांकको खेल मात्र खेल्ने गरिएको छ ।
जनताको चेतना, आकांक्षा र सामाजिक यथार्थ
अहिले राजनीतिमा युवाहरूको सहभागिता बढ्दै गएको पनि स्थापित र ठूलो संगठन भएका दलहरुमा युवाहरु निर्णायक र हस्तक्षेपकारी भूमिकामा पुग्न सकेका छैनन् । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा युवा पुस्तामा लोकप्रिय नेताहरुको अहिलेको अवस्थाले नै यसलाई पुष्टि गर्दछ । निर्वाचन अघि पार्टीको महाधिवेशन गर्न अग्रसर कांग्रेसका युवा पुस्ताका नेताहरुको प्रयास नेतृत्वले शिथिल बनाउने प्रयास गरिरहेको छ ।
दशकौंसम्म पार्टी र मुलुकको नेतृत्वमा पुगेकाहरुले आत्मसमीक्षा गर्ने र बदलिँदो समाजको आवश्यकता अनुसार आफूलाई रूपान्तरण गर्ने क्षमता नदेखाउँदा आम जनताको ध्यान नयाँ राजनीतिक शक्तितिर मोडिएको छ । संघर्ष, इतिहास, संगठन भएका दलको नेतृत्वमा समयको धार अनुसार चल्ने क्षमताको कमी देखिनु वर्तमान राजनीतिक समस्याको एक प्रमुख कारण हो।
आजको नेपाली समाज शिक्षित, सचेत र प्रविधिसँग जोडिएको छ। जनताले अब केवल नाराभन्दा पनि रोजगारी, आर्थिक अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, तथा न्यायपूर्ण शासन चाहिरहेका छन्। तर राजनीति भने अझै पुराना शैली र व्यवहारबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन। यही कारण राजनीति र जनताबीच दूरी बढ्दै छ।
नेपाली समाजमा राजनीतिक चेतना बढ्दै गएको छ। विशेष गरी युवा पुस्ता, शहरी मतदाता, र सामाजिक सञ्जालको प्रभावले पारदर्शिता, जवाफदेहिता, र परिणाममुखी राजनीतिप्रति दबाब सिर्जना गरिरहेको छ। परम्परागत दलहरूप्रति आलोचना बढ्नु र वैकल्पिक राजनीतिक सोचप्रति चासो बढ्नु यसकै संकेत हो।
जनचाहनाको यो धारलाई नागरिक समाज, सञ्चार माध्यम, र स्वतन्त्र निगरानी संयन्त्रहरूले पनि शासन प्रणाली सुधारका लागि भूमिका खेलिरहेका छन्। यसले भविष्यमा राजनीतिक संस्कृतिमा क्रमिक परिवर्तन ल्याउने सम्भावना देखिन्छ।
तर, विकसित राजनीतिक घटनाक्रम, जनताको अपेक्षा र आशा विपरीत देशका एक किसिमका बौद्धिक र राजजनीतिक नेतृत्वहरु जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थालाई बाह्यशक्तिको स्वार्थसंग जोडेर अनेक टिप्पणी गरिरहेका छन् । यसमा सत्यता र मित्थ्याको परीक्षण फागुन २१ पछि हुने नै छ । तर, आफ्नो सत्ताा ढलेपछि अरुलाई अपमानित गर्ने जुन प्रवृत्ति छ यही नै अस्थिरता र देशमा कुशासन कायम भैरहने मूल कारण हो ।
जसले जे भने पनि, जतिसुकै आलोचना, समर्थन र व्याख्या गरे पनि नेपाली जनतामा आशा मरिसकेको छैन र त्यो आशा भदौ २३ को आन्दोलनले जगाएको हो । देशभित्र रहेको स्रोतको परिचालन गरेर मुलुकको समृद्धिका लागि काम गर्ने शासक जनताको खोजी हो । यसलाई अधिकांश दलले स्वीकार गरेका छन् । यो स्वीकारोक्ति व्यवहारमा लागू भयो भने देशको भविष्य निर्माणको यात्रा सोचेभन्दा छोटो समयमा तय हुनेछ ।
भविष्यको सम्भावना
सूचना प्रविधिको प्रयोगले राजनीतिमा युवाको बढ्दो सहभागिता र चासोले सच्चिनैपर्ने दवाव दलका नेताहरुलाई छ । निरन्तर हुने जनदबाबले राजनीति क्रमशः नीतिमुखी र परिणाममुखी बन्दै जानसक्ने सम्भावना अहिलेलाई देखिन्छ। राजनीतिक स्थिरतासंगै दीर्घकालीन आर्थिक दृष्टिकोण बनाएर काम गर्न सकिएमा विकास र समृद्धिको मार्ग प्रशस्त हुन्छ भन्नेमा जनता ढुक्क छन् र उनीहरु यसैको प्रतिक्षामा छन् ।
किनभने, मुलुकको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण भए पनि यसभित्र परिवर्तनका सम्भावनाहरू शस्त छन्। अस्थिरता, गठबन्धन राजनीति, र सुशासनका समस्यालाई सम्बोधन गर्दै जनउत्तरदायी र स्थिर राजनीतिक संस्कृतिको विकास गर्न युवाहरु अग्रसर भएका छन् ।
विगतमा राजनीतिक अस्थिरता, अविश्वास र नीतिगत कमजोरी रहे पनि आम जनताले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरेका छन् । यही अभ्यासबाट कमजोर रहेका संवैधानिक संरचनामा सुधार गर्ने आवश्यकताबोध गरेका छन् र भविष्य सुधारको आधार तयार पारेका छन्। जनताले चाहेकै जस्तो राजनीतिक नेतृत्व सुधारिएर, सक्षम भएर आयो भने यसले देशलाई नयाँ दिशा अवश्य दिनेछ ।
देशको समग्र विकासका लागि आवश्यक कुरा भनेको राजनीतिक नेतृत्वमा जिम्मेवारीबोध, संस्थागत सुधार र जनआकांक्षालाई केन्द्रमा राख्ने संस्कारको विकास हो। यी कुराहरुमा जेनजी आन्दोलन जवर्जस्त रुपमा प्रवेश गरेका कारण यसैलाई आधार बनाएर राजनीतिक नेतृत्व अघि बढे राजनीति जनमुखी हुँदै समृद्ध राष्ट्र निर्माणको दिशातर्फ अघि बढ्ने छ ।





प्रतिक्रिया राख्नुहोस्