एक सय २५ जनालाई जापानी प्रविधिको कम्पोष्ट मल उत्पादन तालीम
४७ वर्ष अगाडि जापानिज नागरिक हासिमोदोले जन्माएको कम्पोष्ट मल उत्पादन गर्ने तालीम सात जिल्लाका एक सय २५ जनालाई जापानिज प्रविधिबाट प्रदान गरिएको छ ।
प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशनालय प्रदेश नं ३ को सहकार्यमा मध्यपुरथिमि नगरपालिकाले वडा नं ४ मा गत वर्षबाट सञ्चालनमा ल्याएको घर–घरको फोहर सङ्कलन गरी कम्पोष्ट मल बनाउने जापानिज प्रविधिलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्ने उद्देश्यले सञ्चालित तालीम शुक्रबार सम्पन्न भएको हो ।
नगरपालिका र रिकिशी कम्पोष्ट मल प्रालिद्वारा आयोजित कम्पोष्ट मल केन्द्रमा सञ्चालित जापनिज प्रविधिबाट कम्पोष्ट मल बनाउने तालीमका सहभागीलाई सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रमाणपत्र वितरण गर्नुभयो ।
तालीममा सहभागी चितवन, दोलखा, रामेछाप, बाजुरा, काठमाडौँ, सिन्धुपाल्चोक र भक्तपुरमा कम्पोष्ट मल बनाउने प्रविधि विस्तार गर्न सरकारलाई अब सहज भएको उहाँले बताउनुभयो । नेपाल सरकारको कृषिलाई आधुनिक, वैज्ञानिक र यान्त्रिक बनाउने अभियानलाई समेत यो प्रविधिले प्रदेशका सबै जिल्लामा यो अभियानलाई विस्तार गर्न तालीमले ठूलो टेवा दिने बस्नेतको भनाइ थियो ।
कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्युरथिमिको फोहर व्यवस्थापनमा यसले सघाऊ पु¥याएको बताउनुभयो । नगरपालिकाले अहिले वडा नं ४ का घरघरबाट फोहर सङ्कलन गरेर जापानिज प्रविधिबाट कम्पोष्ट मल बनाएको उल्लेख गर्दै उहाँले यसलाई नगरपालिकाको सबै वडामा विस्तार गरिने बताउनुभयो ।
कम्पोष्ट मल उत्पादन केन्द्र अहिले अध्ययन एवं अवलोकनको केन्द्र बनेको जानकारी दिँदै उहाँले यहीबाट सिकेर राप्ती नगरपालिकामा पनि स्थानीयवासीले यही प्रविधिको मल उत्पादन शुरु गरेको बताउनुभयो । त्यसअवसरमा रिकिशी कम्पोष्ट मल प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले घरमा फाल्ने फोहरलाई जैविक मल बनाएर प्रयोग र बिक्री गर्न सकिने बताउँदै यो प्रविधिलाई देशव्यापीरूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
यो प्रविधि विभिन्न देशमा नमूनाका रुपमा प्रयोगमा आइरहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा शुरु भएको यो केन्द्रलाई दक्षिण एशियाकै प्रशिक्षण केन्द्रको रुपमा लैजान सकिने बताउनुभयो । तालीममा सहभागीमध्ये घनश्याम कँडेल र विश्व लामाले यहीँबाट सिकेर राप्ती नगरपालिकामा आफूहरुले मल उत्पादन शुरु गरिसकेको बताउँदै स्थानीय सरकारले मध्यपुरमा जस्तैगरी अन्यत्र पनि सघाउनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षार्थीलाई जापानिज नागरिक जुनसा खामोसिजीले प्रशिक्षण दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्