भारतले नेपाली चिया आयातसम्बन्धी व्यवस्थामा केही खुकुलोपन ल्याउने निर्णय गरेपछि लामो समयदेखि अनिश्चिततामा परेको नेपालको चिया क्षेत्रमा राहतको संकेत देखिएको छ।
भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (फसाइ) ले अब आयातित चियाका सबै खेपको सट्टा जोखिममा आधारित प्रणालीअनुसार केवल २० प्रतिशत खेपको मात्रै नमूना परीक्षण गर्ने निर्णय गरेको छ।
यो निर्णयसँगै नेपालका चिया उद्योगीमा आशा पलाएको छ भने सरकारको पहलपछि केही दिनदेखि बन्द रहेका इलाम र झापाका उद्योगहरू पनि पुनः सञ्चालनमा आएका छन्।
यसअघि भारतले नेपालबाट जाने हरेक गाडीको चिया नमूना परीक्षण अनिवार्य गरेको थियो। सीमा नाका र कोलकाताका गोदाममै प्रत्येक खेपको नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइने व्यवस्था लागू भएपछि नेपाली चिया हप्तौंसम्म रोकिँदै आएको थियो।
परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा चिया गोदाममै थन्किन्थ्यो, जसका कारण गुणस्तरमा ह्रास, भण्डारण खर्च वृद्धि र उद्योगीलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो।
पछिल्लो समय मात्रै कोलकाताका गोदाममा करिब तीन लाख केजी नेपाली चिया रोकिएको थियो। चिया निर्यात अवरुद्ध भएपछि इलामका उद्योगहरू असार १ गतेदेखि र झापाका उद्योगहरू असार ४ गतेदेखि बन्द हुन बाध्य भएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कूटनीतिक तथा प्रशासनिक पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरूले उद्योग पुनः सञ्चालनमा ल्याएका हुन्।
भारतीय प्राधिकरणले असार ९ गते जारी गरेको परिपत्रमा अबदेखि भारत आयात हुने चियाको केवल २० प्रतिशत खेपमा मात्रै अनियमित परीक्षण गरिने उल्लेख गरेको छ। उद्योगीहरूका अनुसार यसले सीमा नाकामा हुने ढिलाइ घट्ने, चिया छिटो बजारमा पुग्ने र निर्यात प्रक्रिया सहज बन्ने अपेक्षा गरिएको छ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार शतप्रतिशत परीक्षणको बाध्यताबाट बाहिर आउनु सकारात्मक संकेत हो। “अब एकपटकको नमूना परीक्षणबाट पाँचवटा गाडी चिया पठाउन सकिने अवस्था बन्छ,” उनले बताएका छन्।
यद्यपि उद्योगीहरू अझै पूर्ण रूपमा ढुक्क भएका छैनन्। भारतीय टि बोर्डले नयाँ निर्णयलाई व्यवहारमा कसरी कार्यान्वयन गर्छ भन्ने विषयले आगामी अवस्था निर्धारण गर्ने उनीहरूको भनाइ छ।
यसअघि पनि भारतले आयात प्रक्रिया सहज बनाउने निर्णय गरेको जनाए पनि व्यवहारमा सीमा नाका र गोदाममा पुनः नमूना परीक्षण गरिँदा समस्या यथावत् रहेको उद्योगीहरूको गुनासो छ।
नेपालको चिया निर्यात वर्षौंदेखि भारतीय बजारमा अत्यधिक निर्भर छ। हाल नेपाली अर्थोडक्स चियाको करिब ९० प्रतिशत तथा सिटिसी चियाको झण्डै आधा हिस्सा भारतमै निर्यात हुने गरेको छ।
यस्तो अत्यधिक निर्भरताले भारतले नीति परिवर्तन गर्दा वा प्रशासनिक कडाइ बढाउँदा नेपाली चिया उद्योग पटक–पटक संकटमा पर्ने गरेको छ।
विशेषज्ञहरूका अनुसार नेपालको चिया क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन निर्यात बजार विविधीकरण अपरिहार्य छ।
नेपाली अर्थोडक्स चियाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएकाले युरोप, अमेरिका, जापान, मध्यपूर्व तथा अन्य तेस्रो मुलुकमा ठूलो बजार विस्तारको सम्भावना रहेको बताइन्छ। पछिल्ला वर्षहरूमा जर्मनी, अमेरिका, चीन र जापानमा नेपाली चियाको माग क्रमशः बढ्दै गएको छ।
सरकारले निर्यात प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण, ब्रान्डिङ तथा कूटनीतिक पहललाई प्रभावकारी बनाउन सके नेपाली चियाले तेस्रो मुलुकमा बलियो उपस्थिति बनाउन सक्ने उद्योगीहरूको विश्वास छ। यसले भारतमाथिको निर्भरता घटाउनुका साथै बारम्बार दोहोरिने अवरोधबाट नेपाली चिया उद्योगलाई जोगाउन मद्दत पुग्नेछ।
हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ। देशभर करिब १२० वटा ठूला–साना चिया उद्योग तथा एक सयभन्दा बढी साना–मझौला उद्यम सञ्चालनमा छन्।
यस क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन्। गत आर्थिक वर्षमा नेपालले सिटिसी र अर्थोडक्स गरी करिब ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको थियो।
भारतको पछिल्लो निर्णयले तत्कालका लागि राहत दिए पनि नेपालको चिया क्षेत्रलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र सुरक्षित बनाउन बजार विविधीकरण, मूल्य अभिवृद्धि र निर्यात कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।




प्रतिक्रिया राख्नुहोस्