सन्दीपको सजाय तोक्दै जिल्ला अदालत
काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज बुधबार तोकिंदैछ । यही पुस १३ गते अदालतले लामिछानेलाई जबरजस्ती करणीमा दोषी ठहर गरी आज सजाय तोक्ने जनाएको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
यसअघि नाबालिग बलात्कारको आरोपबाट भने लामिछानेले सफाई पाएका छन् । पीडित युवती बालिग रहेको ठहर गर्दै अदालतले जबरजस्ती करणी गरेको ठहर गरेको हो ।
सन्दीपका कानून व्यवसायीले न्यूनतम सजाय निर्धारण हुनुपर्ने दाबी गरेका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको खेलाडी भएको, यसअघि कुनै कसुर नगरेको, घरमा माता, पिताको हेरचाह र पालनपोषणको जिम्मेवारीमा रहेकाले सन्दीपमाथि कम सजाय हुनुपर्ने उनीहरुको दाबी छ ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।
त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परेका थिए ।
अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गएका थिए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।
त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परेका थिए । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गएका थिए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्