विश्व समाचार

मार्चसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने चिनीयाँ विशेषज्ञको चेतावनी

अघिल्लो वर्ष चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म संसारभर २० लाख मानिसको मृत्यु भैसकेको छ । कोरोनाबिरुद्धको खोप तयार भएर लगाउन सुरु गरिए पनि यसको नयाँ प्रजातिको जन्मसंगै थप चुनौति थपिएका बेला चीनका विज्ञहरुले आउँदो मार्चसम्म अहिलेकोभन्दा दोब्बर बढीको मृत्यु हुने चेतावनी दिएका छन् ।

अहिलेसम्म संसारभरि ९ करोड २० लाख मानिसमा संक्रमण देखिएको छ । चिनीयाँ अनुसन्धान अनुसार मार्चको सुरूसम्म १७ करोड संक्रमित हुन सक्ने छन् ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूको अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने देखाएको छ ।

सिडिसीका प्राध्यापक सु जियानकोउको नेतृत्वमा भएको अनुसन्धानको रिपोर्टमा आगामी दिनमा चीन सरकार र नागरिकले महामारीको नयाँ झड्का अनुभव गर्नु पर्ने चेतावनी दिइएको छ । अनुसन्धानको नेतृत्व गरेका सुलाई यसअघि चीन सरकारले वुहानमा कोरोनाको अध्ययन गर्न पनि पठाएको थियो ।

चीनले महामारीलाई निकै हदसम्म नियन्त्रणमा राखेको भए पनि धेरै देशहरू अहिले पनि कोरोना महामारीसँग जुधिरहेका छन् । नयाँ खालको कोरोनाभाइरसले महामारीविरूद्धको लडाइँलाई झन् चुनौतीपूर्ण बनाएको छ ।

सबैभन्दा खराब अवस्थामा अमेरिका ३ करोड मानिस संक्रमित हुन सक्छन् भने त्यसपछि भारतमा एक करोड ५५ लाख, ब्राजिलमा १ करोड ५० लाख र रूसमा ६० लाख मानिस संक्रमित हुन सक्छन्। सबैभन्दा धेरै संक्रमित भएका यी चार देशमा मृत्युदर के हुन्छ भन्नेबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छैन।

सबैकुरा सोचेजस्तै भयो, सरकारहरूले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गरे, आम नागरिकले भौतिक दूरी अपनाउँदै मास्क लगाए र ठूलो संख्यालाई कोरोनाको भ्याक्सिन लगाइयो भने पनि मार्च पहिलो सातासम्म थप तीन लाख मानिसको कोरोनाले मृत्यु हुने अनुसन्धानले देखाएको छ।

कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका सांघाईको इन्स्टिच्युट पास्टेरका अर्का एक अनुसन्धानकर्ताले मार्चसम्ममा ५० लाख मानिसको मृत्यु हुने गरी महामारी फैलिए विश्वको स्वास्थ्य प्रणालीले काम गर्न नसक्ने बताए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.