नेपालकै सबैभन्दा ठूलो धनराशीको नेपाल टी–२० क्रिकेट लिग क्रिकेटमा भएको अवैध गतिविधिमा संलग्न भएको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतोमा संलग्न भएको सूचनाका आधारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको हो ।
पूर्व क्रिकेटर आलमलाई सोमबार दिउँसो १ बजे विराटनगरमा पक्राउ गरिएको हो भने अन्सारीलाई सप्तरीको राजविराजबाट आईबीकै टोलीले पक्राउ गरेको छ ।
सीआईबीले पुस ९ देखि २७ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा भएको प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको सूचनाका आधारमा अनुसन्धान गरिरहेको छ ।
खेल मिलेमतो भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पनि छानबिन गरिहरेको छ ।
क्यानले यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी भारतको सेभन थ्री स्पोर्ट्सलाई दिएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्