जन सरोकारस्वास्थ्य

जुम्लामा सिटामोल अभाव : औषधि पसलमा अनुगमन

देशभर कोरोना सङ्क्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । यसबीचमा सिटामोलको अभाव सिर्जना भएपछि जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ ।

जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले यहाँका मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको सहायक प्रजिअ रिजालले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा दुई हजार ५०० ट्याब्लेट मौज्दात छ । स्टोर प्रमुख हरि बुढाले भन्नुभयो, “१५ हजार ट्याब्लेट यहाँका आठवटै स्थानीय तहमा पठाएका छौँ ।” जुम्लामा खासै सिटामोल अभाव नहुने स्टोर प्रमुख बुढाले बताउनुभयो ।

यसबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अनुगमनका क्रममा नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएन ।

फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभए पनि खरिद गरिएको औषधि चाँडै आउने प्रतिष्ठानले जानकारी दिएको सहायक प्रजिअ रिजालले बताउनुभयो । यहाँका प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयका स्टोर अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.