१० वर्षमा करीब २७ लाख बढ्यो नेपालको जनसंख्या, जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम
महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख
विगत १० वर्षमा नेपालका जनसंख्या २८ लाख बढेको छ । पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । २०६८ सालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।
बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ ।
विभागले यसपटक जनसंख्या वृद्धिदर भने घटेको जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।
यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।
अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।
आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।
पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाउनुभयो । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।
प्रतिक्रिया राख्नुहोस्