खेलविविध

जैशीदेवलका रोशनलाई स्वर्ण

आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पुरुष १५–२८ केजी फाइनल खेलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे । भक्तपुरका सोबराज तामाङ र नागर्जुन नगरपालिकाका युवराज फुयाँल तेस्रो भए ।

महिला २३–२६ केजीमा भक्तपुरकी जेनी जोशी पहिलो भइन् । जेनीले फाइनलमा बाह्रविसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराइन् । गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशी तेस्रो बने । पुरुष ३१–३४ केजीमा काठमाडौँ महानगरपालिकाका रोहन भुजेलले फाइनलमा तारकेश्वर नगरपालिकाका रोजन घलेलाई पाखा लगाउँदै स्वर्ण जिते । मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रविसेका मनीष थापाले कास्य हात पारे ।

पुरुष एकल पुम्सेमा गोदावरीका नीरव महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश मोटे दोस्रो तथा निलकण्ठ नगरपालिकाका समीर तामाङ र ललितपुर महानगरपालिकाका विलबराज क्षेत्री तेस्रो भए । उक्त स्पर्धाको महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावरीकी सरगम थापा दोस्रो तथा तार्केश्वरकी कुन्जिता गुरुङ र निलकण्ठकी सुवानी तामाङ तेस्रो भए । प्रतियोगितामा विभिन्न २० स्पर्धामा तीन सय खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जानकारी दिनुभयो । प्रतियोगिता भोलि शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.