जन सरोकार

शरीरलाई आनन्द र तनावमुक्त राख्न साउना, स्टिम र जाकुजी

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ । शरीरभित्रका रहेका खराब वस्तु (विकारण तत्व) फाल्न र कामबाट थकित भएका मानिसहरु एकछिन भए पनि शरीरलाई आनन्दका लागि स्पा, साउना, स्टिम र जाकुजीतर्फ आकर्षित हुन थालेका छन् ।

यसमा मानिसहरुलाई तातो पानी बस्ने, पानीको बाफ, सुक्खा तातो विधिबाट शरीरलाई आनन्दमय बनाउने गरिन्छ । आयुर्देव तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले मानिसलाई तनाव व्यवस्थापन गर्न र आनन्द बनाउन स्पा, साउना, स्टिम र जाकुजी जस्ता गर्ने गरेको बताउनुहुन्छ । “ती विधिबाट मानिसको उपचार नै हुन्छ भन्ने हुन्न,” उहाँले भन्नुहुन्छ, “तर मानिसलाई थकाइ तथा तनाव भएको बेला आनन्दको अनुभव हुन्छ ।”

चिकित्सकहरुले पनि मानिसलाई तनावबाट टाढा रहनका लागि स्पा, साउना, स्टिम र जाकुजी गर्नका लागि सिफारिस गर्ने गरेको पाइन्छ । यस्ता सेवा दिने अधिकांश संस्थाहरु दर्ता बिना नै सञ्चालनमा रहेकाले तिनलाई दर्ता गराउने तयारीमा रहेको महानिर्देशक डा उपाध्यायले बताउनुभयो ।

छाती रोग विशेषज्ञ डा प्रकाश पौडेलले स्पा, साउना, स्टिम, जाकुजीले मानसिक तथा शारीरिक रुपमा आनन्द बनाउने बताउनुहुन्छ । उहाँका अनुसार केही निश्चित समयमा स्पा, साउना, स्टिम, जाकुजीमा बस्ने हो भने आनन्दका साथै शरीरलाई पनि फाइदा गर्दछ । उहाँले हप्तामा एक वा दुई पटक साउना, जाकुजी, स्टीम र स्पा गएमा शरीरलाई आनन्द बनाउन सकिने धारणा राख्नुहुन्छ ।

नेपाल वेलनेस एन्ड स्पा एसोसिएसनका अध्यक्ष तथा ट्र्याङक्युलिटी स्पाका कार्यकारी निर्देशन सुरेश पुरी चिकित्सकले सिफारिस गरेका मान्छेहरु पनि स्पा, साउना र जाकुजी लिन आउने गरेको बताउनुहुन्छ ।

उहाँले दिनभरिको थकान तथा मानसिक थकान मेटाउन मानिसहरु ‘रिल्याक्स’ हुन बढी आउने गरेको बताउनुहुन्छ । “टेबुलमा एकोहोरो काममा लाग्ने मानिसहरु बढिजसो थकानबाट मुक्त गर्नका लागि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “स्वास्थ्यलाई ख्याल गरेर कुनै रोग लाग्न दिनुभन्दा रोकथाम गर्ने उद्देश्यले मानिसहरु बढी आउने गरेका छन् ।”

साउना, स्टिम र जाकुजी गर्न छाला, हाड जोर्नीसम्बन्धी बढी समस्या भएका मानिसहरु आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार देशभरिमा ६ सय ५० स्पा सेन्टर रहेका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौँमा नै रहेका छन् । अधिकांश तारे होटेलहरुमा यो सेवा रहेको छ ।

जोर्नी दुखेको र छालासम्बन्धी रोग भएका बिरामी स्टिम र साउनाले फाइदा गर्ने उहाँले बताउनुभयो । बाथ रोग, दुखाइ, सुन्निनेलाई पनि फाइदा गर्दछ । हप्तामा एक–दुई पटक साउना, स्टिम र जाकुजीले मानिसलाई आनन्द बनाउनुको साथै शरीरमा रहेका विकारणलाई फाल्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार साउना, स्टिम र जाकुजीमध्ये एक विधि गर्नका लागि एक हजारदेखि एक हजार पाँचसय रुपैयाँसम्म पर्ने गर्दछ ।

ट्र्याङक्युलिटी स्पामा दैनिक २०–२५ जना मानिस शरीरलाई आनन्द बनाउनका लागि आउने गरेको उहाँ बताउनुहुन्छ । स्पा एसोसिएसनका अध्यक्ष पुरीले नेपालमा बेलनेसको गन्तव्य स्थल बनाउने सके धेरै पर्यटन नेपाल आउने बताउनुहुन्छ । सरकारी कलेजमा अध्ययनरत विद्यार्थीलाई तीन महिनाको तालिम दिएर रोजगारी पनि दिने गरेको उहाँले जानकारी दिनुभयो ।

पानीबाट गरिने उपचार पद्धतिलाई ‘स्पा’ पनि भनिन्छ । स्पा उपचार पद्धति नौलो लागे पनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि हो । कुनै बेला युरोपेली मुलुकहरुले जमेको पानी अथवा झरनामार्फत उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । स्पाले मानिसलाई स्वस्थ्य बनाउनाका साथै रक्तसञ्चार बढाउने, रोगसँग लड्न सक्ने क्षमता बढाउने, थकान कम गराउने, खानामा रुचि जगाउने र निन्द्रा लगाउन मद्दत गर्ने यसका प्रयोगकर्ताहरु बताउँछन् ।

सामान्यतः स्पा तीन घण्टाको हुन्छ । स्पाले स्नायु प्रणालीलाई पुनर्ताजगीसमेत काम गर्ने अध्यक्ष पुरीको भनाइ छ । उहाँका अनुसार स्पाले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गर्न मद्दत गर्छ । स्पाले शरीरका विषाक्त पदार्थहरु निकालेर प्रतिरोध क्षमता बढाउँछ र रक्तसञ्चारलाई ताजा राख्छ ।

‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ भनेको सुक्खा तातो बाफ हो । यी दुवै विधिअन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।

स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा एक–दुई पटक प्रयोग ग¥यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन मद्दत मिल्छ ।

स्टिम र साउनामा १५–१५ मिनेट बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर फुर्तिलो बनाउँछ । शरीरमा टाँसिएको धुलोधुवाँका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ ।

जाकुजी तातो पानीमा १० देखि १५ मिनेट बस्ने विधि हो । यसमा तातोपानीको फोहराले शरीर रक्तसञ्चार गराउनाका साथै आनन्द बनाउँछ । शरीरमा भएका विकारलाई हटाउन, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहोर निकालेर सफा बनाउन स्टिम र साउनाले मद्दत गर्दछ ।

स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ, स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ, शरीरले आनन्द महसुस गराउने गर्दछ । जोर्नीहरु कडा भएर हिँड्डुल गर्न गाह्रो हुनेलाई स्टिम र साउनाले जोर्नीहरु खुकुलो बनाउने गर्दछ । नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना राम्रो विकल्प हो ।

गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ । गर्मी महिनामा भने स्टिम र साउनाले शरीरबाट पसिना निकाली स्वस्थ बनाउने गर्दछन् ।

स्पा एसोसिएसनका अध्यक्ष पुरीले गर्मीभन्दा पनि जाडो याममा स्पा, स्टिम, साउना र जाकुजीले शरीरलाई फाइदा गर्ने बताउनुहुन्छ । “जाडोयाममा मानिसहरुको हिँड्डुल पनि कम हुने र शरीर पनि त्यति चलायमान हुँदैन”, उहाँले भन्नुभयो, “जसले गर्दा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन । स्पा, स्टिम, साउना र जाकुजीले शरीरको रक्तसञ्चार गराउन मद्दत पु¥याउँछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.