राजनीति

गोर्खा सैनिकको माग सम्बोधन गर्न गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसंग गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गर्नुभएको छ । शुक्रबार मन्त्री खाँणसंग राजदूत क्याथरिनले गर्नुभएका शिष्टाचार भेटका क्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो । भेटमा गृह मन्त्री खाँणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकास, लैङ्गिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।

उहाँले आगामी दिनमा यस्ता काममा सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । गृहमन्त्री खाँणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो ।

मन्त्री खाँणले नेपालीले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गर्नुभयो ।

भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताउनुभयो ।

राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने आश्वासन दिनुभयो । भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.